म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित राममन्दिर पुनःनिर्माण भएको छ । करिब एक सय वर्षअघि निर्माण भएको मन्दिर र धर्मशाला जीर्ण बनेको थियो ।
साथै बेनी–जोमसोम–कोरला सडक विस्तार र कालीगण्डकीमा मोटरेबल पुलको पहुँचमार्ग निर्माणका क्रममा मन्दिर स्थानान्तरण समेत गरिएको थियो ।
बेनी–जोमसोम–सडक मुनी रहेको मन्दिरलाई सडक माथि सारेर जीर्णोद्वार गरिएको राममन्दिर पुननिर्माण समितिका अध्यक्ष खड्ग गिरीले बताए । उनका अनुसार २४ लाख ७० हजार ७५० रुपैयाँको लागतमा मन्दिर पुनः निर्माण भएको हो ।
“मन्दिर पुननिर्माणका लागि १५ लाख रुपैयाँउपलब्ध गराउने सहमति गरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले हालसम्म १३ लाख ३२ हजार तीन सय ६१ रुपैयाँ उपलब्ध गराएको छ,” अध्यक्ष गिरीले भने “चार लाख ७४ हजार ७०७ रुपैयाँ चन्दा सहयोग, एक लाख ११ हजार सात सय रुपैयाँ आन्तरिक आम्दानी परिचालन गरेका छौ ।” दुई लाख ८० हजार ८५६ रुपैयाँ ऋण रहेको मन्दिर पुनःनिर्माणका लागि सो सडक आयोजनाले सहमति अनुसार थप एक लाख ६७ हजार तीन सय ३९ रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
अन्नपूर्ण गाउँपालिकाको १० लाख रुपैयाँ बजेटमा सो मन्दिर परिसरमा गत वर्ष निर्माण थालिएको सत्तललाई पूर्णता दिन यस आर्थिक वर्ष २०८१/८२ मा पाँच लाख रुपैयाँ विनियोजन भएको छ । मन्दिर परिसर घेराबार र हनुमानको मुर्ति राख्न बाँकी छ ।
मन्दिरभित्र हिन्दु धर्मावलम्बीहरुका भगवान् रामको मुर्ति राखिसकिएको छ । घेराबार र हनुमानको मुर्ति राख्नका लाथि थप आर्थिक स्रोतको खोजी गरिएको अध्यक्ष गिरीले बताए।
हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथ जाने बाटोमा पर्ने र शालीग्राम शिला पाइने कालीगण्डकी नदीको किनारमा रहेको राममन्दिर रहेको पोखरेबगर अन्नपूर्ण गाउँपालिकाको केन्द्र समेत भएकाले नयाँ धार्मिक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न पहल थालिएको गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजाले बताइन् ।