बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–७ महभिर क्षेत्रमा पहिरो खस्न थालेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने भएको छ । कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकको भिरबाट खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ ।
स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले महभिरमा यसपालिको बर्खामा नयाँ पहिरो सिर्जना भएको बताए । ‘सात–आठ सय मिटरमाथिको भिरपाखो हँुदै सडकमा पहिरो खस्न थालेको छ’, उनले भने, ‘पुग्नै नसकिने भिरको पहिरो रोकथाम गर्ने उपाय छैन ।’
पानी पर्ने बित्तिकै भिरबाट सडकमा ढुङ्गा, लेदो र गेगरसहितको पहिरो खस्छ । शनिबार साँझ पनि त्यहाँ पहिरो खस्दा बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । महभिर खण्डमा हालै ढलान र कालोपत्र गरिएको करिब तीन सय मिटर खण्डमा क्षति भएको छ । मुस्ताङ, म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाका बासिन्दाका साथै यो बाटो भएर यात्रा गर्नेलाई समस्या भएको छ ।
दुई हप्ताअघि बेनीबाट पोखरेबगर जाँदै गरेको एउटा मोटरसाइकल महभिरको पहिरोमा पुुरिएको थियो । यद्यपि त्यसका चालकले भागर ज्यान जोगाएका थिए । यसैबीच, महभिर, बैसरी, सिरुवारी, गुइठेभिरलगायत स्थानमा पहिरोको जोखिम भएकाले त्यताबाट यात्रा नगर्न र सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय, अन्नपूूर्ण गाउँपालिका र बेनी–जोमसोम–कोरला सडक आयोजनाले अनुरोध गरेका छन् ।
कर्णाली राजमार्ग खुल्यो
पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको पिली, कल्यानखोला र बिर्तामोडमा खसेको पहिरो हटाएसँगै अवरुद्ध सडक आज बिहानदेखि खुलेको हो । जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार पहिरो हटाएपछि राजमार्ग पूर्ण रूपमा सञ्चालन भएको छ ।
उक्त स्थानमा सानाठूला पहिरो खस्दा राजमार्ग अवरुद्ध हुने गरेको छ । पर्याप्त बजेट नहुँदा समय समयमा राजमार्गको स्तरोन्नति गर्न कठिनाइ भएको बताउँदै उनले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी सडक मर्मतसम्भार गर्दै आएको बताए । स्थानीयवासीले अविलम्ब सडकको स्तरोन्नति गर्न माग गरेका छन् ।