Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा, कांग्रेस–नेकपा गठबन्धनको अविश्वास प्रस्ताव निर्णायक मोडमा

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले राजीनामा घोषणा गरेका हुन्।

मुख्यमन्त्री कँडेलविरुद्ध नेपाली कांग्रेस र नेकपाका १६ जना सांसदले गत असार ३२ गते प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। सोही प्रस्तावमाथि छलफल गर्ने प्रयोजनका लागि शनिबार दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको थियो। तर, अविश्वास प्रस्तावमाथि मतदानको अवस्था आउनुअघि नै कँडेलले राजीनामा घोषणा गरेका हुन्।

कँडेलको राजीनामासँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको छ। कांग्रेस र नेकपाबीच विकसित पछिल्लो सत्ता सहकार्यका कारण प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने सम्भावना यसअघि नै बलियो बनेको थियो।

यसअघि गत असार ३१ गते कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले पदबाट राजीनामा दिएका थिए।

मुख्यमन्त्री कँडेल २०८० साल चैत २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। त्यतिबेला तत्कालीन नेकपा माओवादी केन्द्रको समर्थनमा उनले सरकारको नेतृत्व सम्हालेका थिए।

केन्द्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार परिवर्तन भएसँगै नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य बनेपछि त्यसको प्रभाव प्रदेश सरकारमा पनि परेको थियो। सोही राजनीतिक समीकरणअनुसार २०८१ साल साउनमा नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी भएको थियो।

तर, सत्ता साझेदारीका क्रममा भएको पूर्वसहमति कार्यान्वयन नभएको भन्दै कांग्रेसले असन्तुष्टि जनाउँदै आएको थियो। कांग्रेसले एमालेले सत्ता सहकार्यका क्रममा भएको सहमति पालना नगरेको र पूर्वसहमतिअनुसार नेतृत्व हस्तान्तरण नगरेको आरोप लगाउँदै आएको थियो।

कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा दिएको भोलिपल्टै कांग्रेसले नेकपासँग सत्ता सहकार्य अघि बढाउने निर्णय गरेको थियो। त्यसपछि नयाँ राजनीतिक समीकरणअनुसार मुख्यमन्त्री कँडेल नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो।

अब कर्णालीमा नयाँ सरकार गठनका लागि दलहरूबीच शक्ति बाँडफाँट र नेतृत्वको विषयमा सहमति जुटाउनुपर्नेछ। मुख्यमन्त्री कँडेलको राजीनामासँगै प्रदेशसभामा बदलिएको राजनीतिक समीकरणले कर्णालीको आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयलाई मुख्य चासोको विषय बनाएको छ।