व्यक्ति-व्यक्तिका असिमित आवश्यकताहरु हुन्छन तर प्रकृतिमा स्रोत र साधन सिमित छन् । त्यसको समुचित प्रयोगले अधिकतम सन्तुष्टि प्राप्त गर्ने प्रयास गर्नुपर्ने मान्यता राखेको पाइन्छ l सरकार जनमुखी हुनु पर्दछ, भएको स्रोत र साधनबाट जनताले मागेका कुरा दिलाउनु राज्यको दायित्व हो l जव राज्यबाट अससमानता, विभेद हुन पुग्दछ तव त्यो विभेद, असमानताको विरुद्व बुलन्द आवाज लिएर समाजको प्रतिनिधित्व गर्दै युगको नेताको उदय हुन्छ l विगतलाई अनुसरण गरेर, वर्तमानलाई बुझेर भविष्यलाई मध्यनजर गर्न सक्ने र त्यहि अनुरुप समाजलाई रुपान्तरण गर्न नेतृत्व गर्न सक्ने चिन्तनशील, सैदान्तिक, वैचारिक र कुशल सांगठनिक कर्तानै समयले मागेको नेता हो l नेपालको संविधान २०७२ भाग-२९ राजनीतिक दल सम्बन्धि व्यवस्थाको धारा २६९, २७०, २७१ र २७२ को अधिनमा रही त्यो व्यवस्थाबाट चुनिएर आएका प्रतिनिधिलाई नेताको रुप स्वीकारिएको छ l सिदान्त र बिचारलाई जनस्थर सम्म पुर्याउने र त्यो समय सापेक्ष बिचारलाई मूर्तता लिदै कुशल नेतृत्व स्थापित हुने हुने गर्दछ l नेपाली जनताको रगत-पसिना, त्याग र वलिदानले आफ्नो विचार निर्धक्क राख्न सक्ने बहुदलीय लोकतान्त्रिक पद्वतिको बिकास भएको छ त्यसैको जगमा आज विभिन्न सयौं पार्टीहरुको जन्म भएको छ l
पृष्ठभूमि
वि.स. २००६ बैशाख १० गत्ते कलकत्ताको श्यामबजारमा कमरेड पुष्पलालको अगुवाइमा स्थापना भएको कम्युनिष्ट पार्टी (सम्पर्क संदेश, बिजय गुरुङ, पेज नं ७२) नेपालमा ७ दशक पार गरिसेको छ l विभिन्न नामले टुटफुटको बावजुत कम्युनिष्ट आन्दोलन २०७४ साल सम्म आइपुग्दै गर्दा झण्दै दुई तिहाइको जनमत प्राप्त गर्दै अझै पनि विभिन्न नाममार्फत ६५% भन्दा माथि जनसमुदायको जनसमर्थन कम्युनिष्ट पार्टी तिरै रहेको आवधिक निर्वाचनको मत परिणामले पनि देखाउछ l यत्रो विशाल जनसमर्थन रहेको कम्युनिष्ट पार्टीहरु एक ढिक्क नहुनु र हुदाँ पनि त्यसलाई दीर्घकालीन थामिन नसक्नु गहन प्रश्न चिन्ह खडा भएको छ l यस्तै पृष्ठभूमिमा रहेर चरम व्यक्तिवाद, निरंकुश कार्यशैली पद्वति र नेपाली जनताको रगत र वलिदानबाट आर्जित संविधान, व्यस्था माथि नै लात हान्ने र बल मिचाई प्रवृति तत्कालिन नेकपा एमालेको नेतृत्वबाट हुँदा बाँकी सबै राजनीतिक दल न्यायलयको ढोका पुगे जसलाई अदालतले पुष्टि गर्यो र तत्काल संसद पुनः स्थापना भए र बाँकी संसद पूर्णकार्यकाल रहयो र आवधिक निर्वाचन मार्फत कार्यपालिका अघि बढिरहेको छ l
नेपाली जनताले बिश्वास गरेको कम्युनिष्ट सत्ता
संसार भर कम्युनिष्ट आन्दोलन खस्किदै जाँदा नेपालमा भने जुर्मुराउदै झन्दै दुई तिहाईको नजिको पुगेको ७ दशक लामो कम्युनिष्ट आन्दोलनमा विभिन्न नामले कम्युनिष्ट पार्टीहरुको आरोह-अवरोह, टुटफुटको शृंखला अधिक देखिन्छ l यसो हुनुमा अंगिकार गरिएको हुबहु सैदान्तिक विचार, सांगठनिक पद्वती नै प्रमुख कारण देखिन्छ l चाहे त्यो माओवादीले गरेको २०५२ को सशस्त्र युद्व होस् या अरु कम्युनिष्ट पार्टीले अवलम्बन गरेका सैदान्तिक-सांगठनिक प्रणाली l मुलत नेपाली माटो अनुरुपको समाज, विचार, सिद्वान्त पद्वतिको पार्टी विकास गर्न नसक्नुनै मूल जड हो l यो सम्पूर्ण नेपाली राजनीतिक दलहरुमा व्याप्त देखिछ l पछिल्लो समय राजनीतिक दल र दलका नेताहरुको कार्यशैली प्रति कटाक्ष, वितृष्णाको प्रतिविम्ब स्वरूप केहि नयाँ अनुहारहरु राजनीतिक जगतमा चम्किरहेका छन जसलाई लोकतन्त्रको सुन्दर फुलवारी भन्न सकिन्छ l
यी तमाम समाजको यथार्थलाई मध्यनजर गर्दै नेपाली विशेषताको समाजवाद कार्यक्रम, आजको पार्टी बारे साङ्गठनिक प्रस्ताव र २० प्रतिशत ४० वर्ष मुनिको युवा सहभागिता सहित आजको नेपाली समाजलाई नेपाली माटो सुहाउँदो आर्थिक, राजनीतिक र सैद्वान्तिक बिचारले मार्ग निर्देशन गर्न सक्ने भनेर नेकपा (एकीकृत समाजवादी) पार्टीले हामी पहिलो पार्टी भनेर समाजवादको झ्याली पिटिरहेकोछ (१०औ राष्ट्रिय महाधिवेशन असार १६-२०) l नेपालका अधिकांश पार्टीहरुले समाजवादको नारा लगाईराख्दा समाजवादको अनुभूति स्वयम् दल र जनताले गरेका छ कि छैनन् खोजको विषय बनेको छ ? अथवा समाजवाद भनेको के हो ? जहाँबाट चढेपनि हिमालको चुचुरोमा पुग्नु समाजवाद हो (प्रा.डा. बिष्णु राई २०८० असोज ६,लेख गोरखापत्र दैनिक) अर्थात जुनै पनि व्यवस्था वा सिद्वान्तले मार्गनिर्देशन गरे पनि जनताको जनजीवनलाई जसले समुचित न्याय गर्न सक्छ, सुखी खुशी दिन सक्छ त्यहि नै समाजवाद हो l
जनताको आधारभूत आवश्यकता परिपूर्ति समेत हुन नसकिरहेको अवस्थामा नेपाली राजनीतिक दलले यसलाई कसरी ल्यान्डिङ गर्छन त्यो भने हेर्न बाँकीनै छ l राजनीतिमा नयाँ परिवेश अनुसार सैद्वान्तिक विचार, कार्यशैली रणनीति अपनाउदै जनतामाझ उत्रिनु सबल पक्ष हो l वर्तमान समाजको परिवेश, राष्ट्रिय राजनीति, कुटनीतिक र अन्तराष्ट्रिय जगतमा देशलाई अब्बल साबित गर्न सक्ने अदभुत क्षमता छ कि छैनन् समाजवादको नारा बोक्ने दलमा यसलाई मध्यनजर गर्न जरुरी छ? वर्तमान नेपालीहरुको युवा वैदेशिक पलायन, बौद्विक पलायन, राजनीतिक प्रति बितृष्णा र यो देशमा केहि हुदैन भने जबर्जस्त सृजना गरिएको भाष्यलाई छिचल्दै नयाँ आशाका किरण छर्ने, बाटो देखाउने अग्रणी वामपन्थीपार्टीको रुपमा दर्ज गराउनु सक्ला त? चुनौती छदैछ l सबै दलका आ-आफ्नै विशेषता छन् यसका बाबजुत सरसर्ती पृष्ठभूमि हेर्दा नेपाली बहुसंख्यक समाजले रोजेको विश्वास गरेको राजनीतिक बिचार बामपन्थीदलहरुलाई अनुसरण गरेको छ वर्तमान परिवेश, राष्ट्रिय राजनीति, आन्तरीक पार्टी संरचना आकलन गर्दा निरङ्कुश निर्दलीय पंचायती शासनको बिरुद्वको आन्दोलन, शाह वंशीय राजतन्त्र विरुद्व सशस्त्र संघर्ष, २०६२/०६३ को जन आन्दोलन नेपाली जनताले भरपुर साथ दिदै आएका छन l २०७० को संबिधान सभाको चुनावले २०७२ सालमा नेपालको संबिधान दिएको छ जसमा संघियता, धर्मनिरपेक्षता, समावेशिता, मौलिक हक सहितको सुरक्षा ग्यारेन्टी गरिएको छ यो आफैमा सबल पक्ष हुन् l
हरेक चोटी व्यबस्था परिबर्तन र तिनले दिएको परिणामलाई मध्यनजर गर्ने हो भने सिमित मान्छे मोटाएका बाहेक जनताले अनुभूति गर्ने गरि विकास भएको पाउन सकिन्न l यसो हुनुमा भ्रष्टाचार मुख्य कारण मानिन्छ २०२३ को रिपोर्ट transparency international का अनुसार १८० राष्ट्र मध्ये नेपाल भ्रष्टाचारको १०८ औं स्थानमा परेको छ ( 5 Augest, The Kathmandu post ) l २०२२ मा ११०औं र २०२१ मा ११७ औं रहेको नेपाल क्रमिक रुपमा भ्रष्टाचार बढ्दै गएको तथ्यले देखाउछ l माओवादी धारबाट आएका एमाले नेता पुर्व मन्त्रि टोप बहादुर रायमाझी, पुर्व गृहमन्त्रि बाल कृष्ण खांड, नेताका छोरा-छोरी र पुर्व कर्मचारी, बाहलवाल मुख्य सचिव लगाएतको सबै राजनीतक दलका नेता कार्यकर्ता, कर्मचारी, कालोबजारी गर्ने व्यापारी समेत मुछिएको तथ्यहरु यत्रतत्र छन् कसलाई विश्वास गर्ने ? यसको उपचार अहिले सम्म हुन सकेको छैन l चैत्यन्य मिश्रका अनुसार नेपाली समाज बढी भावनामा बग्ने गरेका छन् (BBC NEWS 23 AUGUES 2019 ) l साहेद यसैको परिणाम होला जुन जुन भेष बदलेर राजनीतिमा आए मिठा भाषण/नारा दिए र त्यहि बोलीमा लठ्ठीदै नेपाली जनताले भरपूर साथ समर्थन गरे जसको रिजल्ट हातमा लाग्यो सुन्य l
निष्कर्ष
वर्तमान दलाल नोकरशाही पुँजीवादलाई बहुदलीय प्रतिष्पर्धा मार्फत अन्त्य गर्दै राष्ट्रिय पुँजीको निर्माण र औधोगिक कृषि क्रान्ति, पर्यटन प्रवर्धन, साँस्कृतिक मुल्य मान्यतालाई जगेर्ना गर्दै अवसरमा समानता सहितको शान्ति सु-व्यबस्था, सुखी नेपाली र समृद्व नेपाल बनाउनको निम्ति सम्पूर्ण नेपाली जनता प्राकृतिक नैतिक मूल्य-मान्यतालाई अनुसरण गर्नु पर्दछ l कठोर कानुन अन्तर्गत फ्रान्सको संबिधान धारा ६८ अनुसार सरकारमा रहँदा मन्त्रीहरुले गरेका कामका लागि दोषी ठहरेमा उसले फौजदारी अभियोगको सामना गर्नुपर्छ l यस्तो अवस्थामा तिनले सरकारी कामका दौरानमा भएका त्रुटी भन्ने वा असल नियतले गरिएको त्रुटी भनेर छुटकारा पाउने व्यवस्था छैन l तत्काल प्रचलित कानुनभित्र रहेर मुद्वा चल्छ र दोषी ठहरिएमा सजाय भोग्नुपर्छ l यदि यस्तो व्यवस्था कडा रुपमा नेपलामा कार्यन्वयन गर्ने हो भने केहि निर्क्योल गर्न सकिएला की?