नेपाली सेनाले एकतारे (सहायक रथी) र दुईतारे (उपरथी) तहका १० जना वरिष्ठ अधिकृतको सरुवा गरेको छ। सेनाले पाँच जना उपरथी र पाँच जना सहायक रथीको जिम्मेवारी हेरफेर गर्दै विभिन्न पृतना, विभाग तथा निर्देशनालयमा नयाँ जिम्मेवारी तोकेको हो।
सरुवाअनुसार उत्तर पश्चिम पृतना हेडक्वार्टरका उपरथी दिपेशजंग शाहलाई सैनिक सचिव विभागअन्तर्गत अतिरिक्त समूह (सैनिक इन्टेलिजेन्स महानिर्देशनालय, इन्टेलिजेन्स कोर) मा सरुवा गरिएको छ। ब्याच नम्बर २११४ का शाह छिट्टै अवकाशमा जाने तयारीमा रहेका छन्। यस्तै, उपरथी रविन्द्र खत्रीलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा निमित्त सहसंयोजकको जिम्मेवारीसहित पठाइएको छ। उनी ब्याच नम्बर २१०४ का अधिकृत हुन्।
उत्तर पश्चिम पृतना हेडक्वार्टरको निमित्त प्रमुखको जिम्मेवारी उपरथी पदमबहादुर बुढाले सम्हाल्ने भएका छन्। उनी यसअघि कार्यरथी विभागमा कार्यरत थिए। त्यसैगरी, सुदूरपश्चिम पृतना हेडक्वार्टरको जिम्मेवारी उपरथी पवन खत्रीलाई दिइएको छ। उनी राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयबाट त्यहाँ सरुवा भएका हुन्। त्यस्तै, सैनिक कमाण्ड तथा स्टाफ कलेजमा कार्यरत उपरथी शक्तिजंग बस्नेतलाई पूर्वी पृतना हेडक्वार्टर, इटहरीमा सरुवा गरिएको छ। उनले त्यहाँ निमित्त पृतनापतिको जिम्मेवारी सम्हाल्नेछन्।
सहायक रथीतर्फ पनि व्यापक हेरफेर
सहायक रथी द्रव्यराम भण्डारीलाई सैनिक सामग्री प्राप्ति निर्देशनालयबाट उपत्यका पृतना हेडक्वार्टरमा सरुवा गरिएको छ। त्यस्तै, विपद् व्यवस्थापन निर्देशनालयमा कार्यरत सहायक रथी रन्जित थापालाई कार्यरथी विभाग पठाइएको छ भने सहायक रथी किरणराज श्रेष्ठलाई सैनिक सामग्री प्राप्ति निर्देशनालयको निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ।
यसैगरी, सहायक रथी चुलेन्द्रबहादुर थापालाई सुदूरपश्चिम पृतना हेडक्वार्टरमा सरुवा गरिएको छ। उनी यसअघि नम्बर–१६ वाहिनी अड्डामा कार्यरत थिए। सरुवाको सूचीमा रहेका अर्का सहायक रथी सञ्जयकुमार रञ्जितलाई राष्ट्रिय सेवा दलबाट आपूर्ति तथा परिवहन निर्देशनालयमा सरुवा गरिएको नेपाली सेनाले जनाएको छ।