Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

राजकुमारको ‘किवाहाङ’मा ब्रिटिस गोर्खाहरुको कथा

साब्लाबुङ पुस्तकालय अभियानका अध्यक्ष राजकुमार राई उपन्यास ‘किवाहाङ’ लिएर पाठकमाझ आएका छन् । ६ दशकअघि ब्रिटिस गोर्खा (लाहुरे)हरूले भोगेका घटनामा आधारित यो कृति अभियानले नै प्रकाशन गरेको हो ।

संखुवासभा घर भई हङकङमा बसोबास गर्दै आएका साहित्यकार राईको उपन्यास काठमाडौंमा विमोचन गरिएको छ । लेखक तथा विश्लेषक डा.सुरेन्द्र केसी, पूर्वसचिव दिनेश अधिकारी, संगीतकार बुलु मुकारुङ, साहित्यकारहरू रामकृष्ण बान्तवा, माया ठकुरी, किशोर पहाडी र गीता रेग्मीले उक्त औपन्यासिक कृति सार्वजनिक गरेका हुन् ।

यस उपन्यासमा लेखक राईले ब्रिटिस सेवाप्रति गौरव नगरेको बरु आलोचनात्मक रूपमा हेरेको पाइएको विश्लेषक डा। केसीले सुनाए । ‘ब्रिटिस सेवामा लाग्ने अधिकांश मानिसहरूले यसमा गौरव गरेको नै मैले सुनेको छु । तर, उहाँको यसमा आलोचनात्मक दृष्टिकोण पाएँ । यस्तो कसरी भयो? मैले त्यो बुझिनँ । हामीलाई दुरुपयोग नै गरेको छ भन्ने खालको छ’, उनले भने, ‘वास्तवमा अंग्रेजहरूले हामीलाई सही काम गराएको होइन । गलत काम नै गराएको हो ।’
मलाया, सिंगापुर, हङकङ र ब्रिटेनका प्रत्येक घुम्ती र गल्छेडाहरूलाई खाँदबारी (संखुवासभा), तुम्लिङटार, घोपा क्याम्प, फुस्रे र हिलेसँग जोड्न खोजेको पाइएको उनले सुनाए ।  

Kiwa Hang (11).jpg

किवाहाङ पात्रलाई पौराणिकतासँग जोड्न खोजेको टिप्पणी डा.केसीले गरे । ‘यो किवाहाङ भनेको उहाँ आफैं हो । उहाँ आफूलाई बाघजस्तो सम्झिनुहुन्छ । किरात सभ्यता बिर्सिनुभएको छैन । किरात समुदायका साथीले यलम्बरलाई कहिल्यै पनि बिर्सिनु हुँदैन । यो कुरालाई उहाँले जोड्न खोज्नुभएको छ’, उनले भने, ‘म बाघ हुँ र राजा हुँ । यो भएन भने मान्छे कसरी दिनहीन हुँदो रहेछ । यो कुरालाई उहाँले भन्न खोज्नुभएको छ ।’

गोर्खाहरूको आन्दोलन, उनीहरूलाई कसरी विभेद भयो, कसरी पठायो भन्ने विषयमा लामो समयदेखि अनुसन्धान गर्दै आएको उपन्यासकार राईले सुनाए । यूके, हङकङमा बसोबास गर्दै आएका लाहुरे (भूपू गोर्खा सैनिक) ले लेखिरहेका युद्ध साहित्यमा वर्तमान मात्रै समेटिरहेको उनको भनाइ थियो । ‘गोर्खाहरू विश्वयुद्धमा कसरी गए? ५२ लाख नेपालको जनसंख्या भएकोमा ८ लाख मान्छेहरू किन मर्न गए विश्वयुद्धमा? यो धेरै कुरा मान्छेहरूलाई थाहा छैन’, उनले भने, ‘तत्कालीन शासकले समाउँदै पठाएको हो नि !’

‘त्यत्रो’ मान्छे (नेपाली)मर्दाखेरि कुनै साहित्यकार, पत्रकारले पनि नलेखेको गुनासो उनले गरे । विश्वयुद्धका पीडित पक्ष (देश)ले क्षतिपूर्ति पाए पनि सबभन्दा धेरै मर्ने गोर्खालीले नपाएको उपन्यासकार राईले खुलाए । बरु ब्रिटिसले गोर्खाको हितका लागि पठाएको रकमबाट राणा शासकले दरबार बनाएको उनको भनाइ थियो ।  ‘६० वर्ष अगाडिको कुराहरूलाई आख्यानमा ल्याउँदा के होला भन्ने भयो । इतिहास लेख्यो भने हेर्नुहुन्न, यो लाहुरेको रैछ भनेर । अलिकति उपन्यास फूलबुट्टा भरेर चाहिँ मान्छेहरूले हेर्छन् भन्ने हिसाबले यसलाई छिराएको हो’, उनले भने ।

संखुवासभा–काठमाडौं जर्नालिस्ट एसोसिएसनले आयोजना गरेको कार्यक्रममा पुस्तकालय अभियानमा संलग्न पुस्तक दातालाई सम्मान गरिएको थियो । अभियानका नेतृत्वकर्तासमेत रहेका राईका अनुसार १७ ठाउँमा पुस्तकालय पु¥याउँदा ४० हजारभन्दा बढी पुस्तक पुर्‍याइएको छ । यस अवधिमा ७१ जना दाताबाट १७ हजार ४ सय पुस्तक प्राप्त भएको उनले सुनाए ।  साब्लाबुङ साहित्यिक पत्रिकाका सम्पादक-प्रकाशक रहेका उनी हङकङ साहित्यिक साझा शृंखलाका संस्थापकसमेत हुन् ।