Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

विवाह र नेपाली समाजको सम्बन्ध

विवाह

मानिसको जन्म र मृत्यु बीचको समय जुन सबैभन्दा प्रिय, आनन्द र दुई जवानीहरुको मिलन बिन्दु विवाह हो । स्त्री र पुरुषका बिचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक, सामाजिक कृत्य विवाह (नेपाल प्रज्ञा प्रतिष्ठान नेपाली शब्द कोष) । सृष्टिको सुरुवाती चरण हिन्दु धर्मशास्त्र देखि बाईबल हुँदै कार्लमार्क्सको आदिम साम्यवादी समाज देखिको अध्ययन गर्ने हो भने त्यो परिवेशमा पनि महिला र पुरुषको साझा बसोबासलाई अङ्गीकार गरेको देखिन्छ ।

फरक-फरक परिवेशका, फरक समाजबाट आएका विपरित लिङ्ग बीचको आपसी साझा उदेश्य सहित बाँचुञ्जेल सधै संगै रहने गरी शारीरिक-मानसिक तवरले आपसमा लिप्त हुन पाउने सामाजिक संस्कार लाई विवाहको रुपमा लिन सकिन्छ । जसलाई त्यो देशको कानुनले वैद्यता दिएको हुन्छ । विवाह आफैमा कौतुहलता र गहन परिभाषा बोकेको छ जसलाई हरेक समाजले एकै अर्थमा लिएको पाउन सकिन्छ । यसरी हेर्दा विवाह भन्नाले महिला र पुरुष संगै बस्न पाउने सामाजिक साँस्कृतिक अधिकार, मानव सृष्टिको निरन्तरता, यौनको स्थाई लाईसेन्स मात्र नभएर जीवन निर्वाहको क्रममा भावनात्मक सम्बन्ध, आइपर्ने विभिन्न समस्याहरुलाई मिलेर सामना गर्ने परिपाटी पनि रहेछ ।

विशेषत महिला र पुरुषको मिलन मात्र नभएर दुई परिवार एक हुनु, दुई समुदाय एक हुनु विवाहको सवल पक्ष मानिन्छ । जसले मानव समुदायलाई चलायमान र सन्तुलित बनाईराख्न मद्दत मिलेको देखिन्छ समाज यसै गरि चलिआएको छ । प्रकृतिले महिला र पुरुषको आआफ्नै विशेषता दिएका छन्  पुरुषमा अलिक शारीरिक बल छ भने महिलामा माया, ममता र स्नेह दिएको छ जसले महिलाको महानता 'आमा' भन्ने शब्दलाई अझ प्रगाढ बनाउछ । साहेद यसरीनै महिला पुरुषको मिश्रणमा सृष्टि चलोस भनेर पुर्खाहरुले परिकल्पना गरेको होलान । समाज जतिजति विकासको चरण पार गर्दै गए त्यतिनै मानिसले थप चुनौती सामना गर्दै मानसिक रुपमा असहज महसुस गरिरहेको विभिन्न तथ्यांकले देखाउछ । अमेरिकन समाजशास्त्री टालकोट पार्सनले 'थेउरी अफ रोल्स' मा विवाह र घर(परिवारको बारेमा लेखेका छन् जहाँ महिला आमाहरुले हेरचाहको भूमिका निर्वाह गर्दै परिवारमा अरुको सामाजिकता र भावनात्मक आवश्यकताहरुको ख्याल राख्ने  र पुरुषहरुले परिवारलाई सहयोग गर्न बाहिर पैसा कमाउने जिम्मेवारी हुने उल्लेख गरेका छन्।

यसरी बुझ्ने हो भने घर चलाउने एउटा माध्यम विवाहनै बुझिन्छ। यिनै संरचनाबाट परिवार नातागोता, आफन्त, इस्ट-मित्र, साथीभाई हुदै समाज बन्छ र त्यहि समाज-समाजको मिश्रणबाट अर्को धार्मिक समाज, आर्थिक समाज, राजनीतिक समाज, साँस्कृतिक समाज लगाएतको भरिभराउले राष्ट्रिय समाज हुँदै अन्तराष्ट्रिय समाज  बनेको देखिन्छ । यसरी समाज विकास हुने क्रममा त्यस समाजमा बसोबास गर्ने मानिसहरुको रहनसहन, बानी व्यवहारले प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ त्यहि प्रभाब स्वरूप पूर्वीय सभ्यता बोकेको नेपाल र पश्चिमी सभ्यता बोकेको पश्चिमी शैलीको प्रभाव नेपाली समाजमा बढ्दै जाँदा नेपाली समाजको स्वरुपमा सकारात्मक भन्दा नकरात्मक पक्षको ग्रहणता गरेको देख्न सकिन्छ । एक्लो जीवनशैली जिउन मन पराउने, ढिलो विवाह गर्ने गरिहालेपनि सम्बन्ध विच्छेदको मुद्वा क्रमिक रुपमा बढ्नु यसको ज्वलन्त उद्वाहरण हुन । विवाहको प्रकारहरु धेरै छन जति प्रकार भएता पनि त्यसको अर्थ एकै हुन आउँछ महिला र पुरुषको मिलन । आज भोलि समलिंगी विवाहलाई पनि कानुनले वैद्यता दिएको छ त्यो फरक प्रसंग हुन् आउछ । 

नेपाली समाज 
नेपाली ईतिहासकारहरुका अनुसार करिव चार हजार वर्ष भन्दा बढी पुरानो पूर्वीय सभ्यता बोकेको नेपाली समाज छ  िनेपाली समाज आफ्नै खालको साँस्कृतिक मूल्यमान्यता बोकेको अनेकतामा एकता रहेको सुन्दर फुलवारी हो । बहुजाति, बहुभाषी, विभिन्न धर्मावलम्बी सहित भौगोलिक विभिधताले भरिपूर्ण स्वर्णिम सभ्यता भएको ऋषिमुनिको तपोभूमि, शिवको सृष्टि भूमि, बुद्वको जन्मथलो शान्तिभूमि नेपाली समाज हो। आपसी मेलमिलाप, आत्मीयता, भाईचारा, क्षमा दिन सक्ने मनको धनि, दुख लुकाउन सक्ने हृदय भएको नेपाली जाती संसारमै एक मान्न सकिन्छ । अरुलाई दुख्दा पिडा आफुलाई हुने नेपाली जातिको विशेषता छ यहिँ विशेषताको कारण संसारमा अरु समाजका मानिस भन्दा नेपाली समाजको बेग्लै महत्व रहेको छ। परिवेश अनुसार चल्न सक्ने हुदाँ संसार भर नेपाली फिजिएको समाचार पढ्न र इन्टरनेटमा तथ्यांक हेर्न सकिन्छ ।

साँस्कृतिक मूल्य-मान्यतामा चलेको नेपाली समाज केहि दशक यता आधुनिकता, ग्लोबललाइजेसन, विश्व आर्थिक व्यवस्था र नयाँ वैज्ञानिक शिक्षा पद्वतिको हुबहु अनुसरण गर्दा नेपाली समाज ठुलो खाडलमा पर्दै गएको अनुभूति वर्तमान परिस्थितिले देखाउछ यसको जवादेहिता राज्य नेतृत्वले लिन पर्छ नै र वर्षेनी सयौंको संख्यामा उत्पादन हुने समाजशास्त्रीको भूमिका माथि पनि यक्ष प्रश्न खडा भएको छ? मानव रहितको अर्को समाज परिकल्पना गर्न सकिन्न मानव सृष्टिको एकाइ विवाह भन्दा अर्को हुनैसक्दैन तर जसरी विभिन्न बहानामा सम्बन्धमा दिगोपन नहुनु, एक्लो जीवन यापनमा रुची बढ्दै जानु र बिहे गरिहाले पनि बच्चा एक मात्र पाउने त्यसमा पनि लिङ्ग पहिचाहन गरेर भ्रूण हत्याको केशले मानवीय सभ्यतामा गम्भीर समस्या निम्त्याउने देखिन्छ ।

उहाहरणः आर्थिक रुपमा सम्पन्न भनिएका देशहरु सिंगो यूरोप, कोरिया, जापान, चीन लगाएत देशको जन्मदर नेगेटिभ रहेको तथ्यांक छ । यसो हुनुमा स्वयम देशको राज्यले अवलम्बन गरेको रणनीतिका परिणाम हुन् । प्रविधिमा जस्तो सुकै फड्को मारे पनि मान्छेको विकल्प मान्छे नै हुन् , संसार चल्न मान्छे चाहिन्छ भन्ने मान्यता बुझेर चीनले एक बच्चा प्रणालीबाट पछी हट्दै बहु बच्चा प्रणाली अवलम्बन गरेको, यूरोप लगाएतका देशमा केटा र केटि मिलनको लागि हप्तामा काम गर्ने दिन छोट्याएको, रमाइलो वातावरण मिलाउने देखि बढी बच्चा जन्माउनेलाई राज्यले पुरस्कृत सम्म गर्ने रणनीति अवलम्बन गरेको समाचार सुन्न र इन्टरनेटमा सजिलै भेटाउन सकिन्छ ।

आर्थिक रुपमा विपन्न रहेका देशका नागरिकहरुलाई  विभिन्न प्रलोभन देखाएर सेवा सुबिधाको नाममा तान्ने प्रवृति अत्यन्त रहेको छ । यसैको सिकारमा नेपाली समाज परेको छ । विद्या आर्जन गरेर समाज कल्याणमा बाढनु हाम्रो संस्कार हो, अर्मपर्म गर्दै काम गर्नु हाम्रो रिति हो, घरमा कोहि नचिनेको मान्छे आउँदा पाहुनाको रुपमा ग्रहण गर्दै सत्कार गर्नु हाम्रो परम्परा हो, बेलाबेलामा हाट बजार रोधी बस्नु जिउने कला हो, ओइचो पैचो चल्ने आवश्यकताको आधारमा सामानको सट्टा-पट्टा गर्ने हाम्रो निति हो, प्रकृतिलाई पुजा गर्दै पशु पन्छीलाई माया गर्दै फरक-फरक दिन पारेर पुज्ने पनि नेपाली समाजनै हो ।

बडालाई आदर र सानालाई माया गर्ने हाम्रो प्रचलन हो, आमा-बुवा र गुरुलाई पुज्ने पनि हाम्रै समाज हो । व्यक्तिको क्षमता अनुसार ढुंगालाई माटोको भर माटोलाई ढुंगाको भन्ने उखान सिरोपर गरेर लाटोगाँडोलाई समेत जीवन जिउन पर्छ भनेर समाजनै मिलेर सुहाउदो पात्रको मिलन गराउने समाज पनि यहिँ छ । विवाहलाई उच्च मुल्यांकन गर्ने नेपाली समाजमा जेठाजुले बुहारीलाई (भाईको श्रीमती) छुनु हुदैन नत्र पाप लाग्छ भन्ने प्रचलन अझै पनि छन् जसको अर्थ कलिलो जवानीमा आँखा लागेर भाई(भाईमा लडाई नपरोस भनेर बडो चलाखी पुर्वक हाम्रा पुर्खाले नियम बसालेका थिए ।

गाउँ-गाउँका (पहाड) माथि आहाल (पोखरी) राखेर पानी रिचार्जको प्राकृतिक पर्यावरणको वैज्ञानिक विधि अवलम्बन गरेको देखिन्छ । अहिले भएका तालहरुलाई त्यहिँ पुर्खाका देन हुन्, यस अर्थमा नेपाली समाजमा वैज्ञानिक पद्वती हाम्रा पुर्खाहरुले सयौ वर्ष पहिले अवलम्बन गरिसकेको पाउन सकिन्छ । आत्मनिर्भर बन्न हाम्रा पुर्खाले सानैमा सिकाएका थिए परिस्थिति कस्तो हुन्छ आंकलन गर्न सकिन्न (कोभिड १९) बेलैमा सोच्न जरुरी छ । यस्तो समाज आज कता जाँदै छ ? गाउँ(गाउँमा बाटो, बिजुली, इन्टरनेट प्रशस्त सरकारी विद्यालय पुगेका छन् मान्छे छैन, शहरमा मान्छे छन् भावना छैन, एक कोठामा बस्न्ले अर्को कोठामा बस्नेलाई चिन्दैनन्, मरे बाचे मतलब छैन मतलब छ त केवल पैसा दोसी कोरु अब सिंगो समाज जाग्ने बेला आइसकेको छ ।

२०७८ को जनगणना अनुसार नेपालको जनसख्या बृदिदर ०.९२ प्रतिशत रहेको छ अघिल्ला जनगणना वर्ष भन्दा क्रमिक रुपमा गिर्दो अवस्थामा देख्न सकिन्छ यसो हुनुमा तिब्र गतिमा वैदेशिक पलायन र हुबहु पश्चिमी सस्कारको ग्रहणले चिन्तनमा आएको परिवर्तन मुख्य कारक हुन् । प्रविधिमा आएको परिवर्तनले मानिसको दैनिकीमा सजिलो भएको छ आज संसारको जुन कुनामा बसेर पनि आफुलाई इच्छा लागेको सेकेण्डभर हेर्न देख्न सकिन्छ यी प्रविधिका सवल पक्ष हुन् । तर जसरी प्रविधिले संसारलाई एउटा सानो घेरा सिमित गरायो यसले मानिसको आकांक्षालाई ब्रह्माण्ड चुल्याईएको छ । एकै मानिसमा थरि-थरिका रुप, क्षमता हुनु पर्ने महत्वकांक्षाले महिला पुरुषको मिलनलाई अझ धकेलिदै गएको छ।  'लोग्ने स्वास्नीको झगडा परालको आगो' उखान जस्तै हाम्रै बा-आमाको पालामा मारामार झगडा गरे पनि एकैछिनमा मिलेर बसेको ताजैछ । एक-आपसमा प्रेम, विश्वास र आदर नहुदा यति धेरै सेवा सुबिधाको बाबजुत सम्बन्धमा दिगोपन नहुनु आत्महत्या बढ्दै जानु गम्भीर समस्या पैदा भएको छ यसको बेलैमा निर्क्योल गर्न जरुरी छ ।

निष्कर्ष 
समय सापेक्ष वर्तमान परिवर्तनको सकारात्मक पक्षलाई मात्र ग्रहण गर्दै हाम्रो समाज जुन मूल्य –मान्यताबाट आएको छ त्यसको जगमा रहेर वर्तमान शैक्षिक प्रणालीमा हेरफेर गर्दै प्रतिस्पर्धाको शिक्षा होइन कि जीवन जिउन चाहिने आधारभुत शिक्षा प्रणाली विकास गर्न सके मात्र हाम्रो नेपाली समाज नेपाली रहन्छ नत्र नेपालीपनको भावना रहित कागजी प्रयोजनमा मात्र नेपाली समाज रहला भन्न सकिन्न ।

दिपेश सिंजाली मगर 
स्नातकोत्तर, समाजशास्त्र तेश्रो सेमेस्टर