Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

दुई हजार ३३६ विदेशीलाई नेपालमा काम गर्न अनुमति, सबैधन्दा धेरै चिनियाँ

श्रम स्वीकृति लिएर नेपाल आउने विदेशीमध्ये चिनियाँ नागरिकको संख्या उल्लेख्य रहेको पाइएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चिनियाँ नागरिकको संख्या धेरै देखाएको हो ।

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा रोजगारीका लागि ६९ देशका नागरिकले श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा बढी चिनियाँ छन् । विभागले चालु आर्थिक वर्ष २०८०।८१ को ११ महिनामा सरकारले दुई हजार ३३६ विदेशी नागरिकलाई काम गर्ने अनुमति (श्रम स्वीकृति) दिएको छ ।

श्रम ऐनमा नेपालमा सञ्चालन भएका प्रतिष्ठानले पाँच प्रतिशत मात्र विदेशी श्रमिक राख्न सकिने प्रावधान छ ।  नेपालमा खासगरी विदेशी लगानीमा निर्माण भइरहेका ठुला आयोजना तथा परियोजनामा काम गर्न विदेशी आउने गरेका छन् । रोजगारीका लागि दैनिक औसतमा दुई हजार जनशक्ति विदेश गइरहेको अवस्थामा सरकारले उच्च दक्ष जनशक्ति नपाउँदा विदेशी नागरिकलाई काम गर्ने अनुमति दिँदै आएको छ । 

यसअघि आर्थिक बर्ष २०७९/८० मा विकास साझेदार कम्पनीको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न नेपालबाट श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या दुई हजार ९९४ रहेको विभागको तथ्यांकमा उल्लेख छ ।