Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

'अपाङ्गता भएका एकल महिलाहरूका लागि राज्य गम्भिर हुनुपर्छ'

चौधौँ अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा पहिचान नेपालद्धारा आयोजित छलफल गोष्ठी सम्पन्न भएको छ। ''अपाङ्गता भएका एकल महिलाहरूको समावेशिताको लागि एकता, विभेदरहित समाज निर्माणका लागि गरौँ प्रतिवद्धता' भन्ने नाराका साथ पहिचान नेपाल संस्थाले चौधौँ अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा गोष्ठी कार्यक्रम सम्पन्न गरेको हो।

असार ९ गते काठमाडौंको जडिबुटीमा सम्पन्न कार्यक्रममा अपाङ्गता एकल महिलाहरूको समावेशिताको सवाललाई कसरी उठाउने भन्ने सन्दर्भमा छलफल गरिएको थियो। यसैगरी सो महिलाहरूलाई देशका कुनाकाप्चाबाट कसरी संगठित गर्ने र उनीहरूका मुद्दालाई कसरी उठाउने? अपाङ्गता एकल महिलाहरूको आर्थिक स्थितीलाई कसरी उकास्ने ? परिवार र समाजमा कसरी स्थापित हुन सघाउने ? लगायतका विषयहरूमा छलफल केन्द्रित गरिएको थियो। ४० जना सहभागी कार्यक्रममा बाग्मती, लुम्बिनी, मधेश प्रदेश लगायत ६ वटा प्रदेशबाट ३७ जना अपाङ्गता एकल महिलाहरूको उपस्थिती जनाएका थिए।

WhatsApp Image 2024-06-24 at 8.22.15 PM.jpeg

कार्यक्रममा सहभागी महिलाहरूले आ-आफ्ना अनुभव सुनाएका थिए। उनीहरुले अपाङ्गता एकल महिलाहरूलाई परिवार र समाजले हेर्ने दृष्टिकोणका बारेमा पनि चर्चा गरेका थिए। सहभागि धेरै महिलाहरूले आफ्नो भोगाई राख्ने क्रममा भावुक हुँदै भक्कानिए। आफूहरुको दु:ख र संघर्षपूर्ण अनुभवको  
भोगाइ सुनाउने मध्ये की एक हुन् सुदूरपश्चिम कैलालीकी राजमती धामी । आफू दृष्टिविहीन भएकै कारण श्रीमानसँग सम्बन्धविच्छेद भएको राजमतीले सुनाइन। सुदूरपश्चिमकैं एक युवकसँग वैवाहिक सम्बन्धमा बाँधिएकी राजमती श्रीमानसँग सम्बन्धविच्छेद हुँदा परिवार र समाजले हेर्ने दृष्टिकोण समेत नकारात्मक भएको उनले दुखेसो पोखिन। उनी गर्भावस्थामा हुँदा नै उनका श्रीमानले छोडेर गएको धामीले बताइन। यतीबेला आफू समस्यामा भएको सुनाउँदै दु:ख सुखसँगै काट्ने वाचा गरेका श्रीमानले सम्बन्धविच्छेद गर्दा र परिवार अनि समाजले हेयको नजरले हेरिदिदाँ जीवन चलाउन कठिन भएको उनको अनुभव छ।

यसैगरी गोरखा पालुङटारकी दृष्टिविहिन कमला बि.कले २०५४ सालमा धनुषा घर भएका एक दृष्टिविहिन युवकसँग विवाह गरिन्। सुमधुर सपना साँचेर वैवाहिक सम्बन्धमा बाँधिएकी कमलाको वैवाहिक यात्रा ५ वर्ष नपुग्दै टुङ्गियो। वि.सं. २०६३ सालमा घर छोडेर हाल कीर्तिपुरको पाँगामा छोरीसँग बसिरहेकी कमलाले आफू दृष्टिविहीन भएकै कारणले परिवारले स्वीकार्न नसकेको बताउँछिन्। अक्सफाम नेपाल लगायत विभिन्न संघ संस्थामा काम गरेर अनुभव बटुलिसकेकी कमलाले आफूसँग सीप भएता पनि लगानी गर्ने पुँजी नहुनाले हालसम्म केही गर्न नसकेको उनको गुनासो छ। अचार र बेकरी बनाउने तालिम लिएकी उनले केही गरेर समाजलाई देखाउँछु भन्दा पनि एकल महिलाहरूलाई समाजले विश्वास नगरेको बताउँछिन्।

WhatsApp Image 2024-06-24 at 8.22.11 PM.jpeg

यसैगरी कार्यक्रममा शारिरिक अपाङ्गकता रहेकी कौशिला बिष्ट, ज्ञान कुमारी महर्जन लगायतले आफ्नो भोगाई राखेका थिए। राष्ट्रिय मानव अधिकार आयोगकी प्रतिनिधी कल्पना नेपाल आचार्यले अपाङ्गता भएका एकल महिलाहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन । राष्ट्रिय समावेशी आयोगका प्रतिनिधी हरि दत्त जोशीले भौतिक संरचनाहरू अपाङ्गमैत्री नभएको बताए। अपाङ्गता भएका बालबालिकाहरूको शिक्षामा हालसम्म पनि प्रयाप्त पहुँच नहुनु दु:खको कुरा भएको उनले भने। अपाङ्गता भएका व्यक्तीहरूको विषयमा आफूले वकालत गरिरहने उनको भनाइ छ।

नेत्रहिन महिला संघकी अध्यक्ष सिता सुवेदीले अपाङ्गता भएका एकल महिलाहरूलाई सरकारले अधिकारबाट वञ्चित गराएको बताइन। मन्तव्यको क्रममा अपाङ्गता एकल महिलाहरूको विषयमा राज्य गम्भिर हुनुपर्नेमा उनले जोड दिइन। सङ्गठित भएमा मात्र अपाङ्गता एकल महिलाहरूको समस्या समाधान हुने सुवेदीले धारणा राखिन।

अपाङ्गता बहिरा महासंघकी महिला उपाध्यक्ष सिखा प्रधानले बहिरा व्यक्तिहरुको अवस्था नाजुक भएको बताइन। मन्तव्यको क्रममा कमेनिकेसन गर्न समस्या भएकाले रोजगार अझ टाँढाको विषय भएको प्रधानले जानकारी दिइन। यसका लागि राज्यले विशेष कदम चाल्नुपर्नेमा उनले जोड दिइन् । 

WhatsApp Image 2024-06-24 at 8.22.16 PM.jpeg

कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधीहरूले आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन पहिचान नेपालकी अध्यक्षय ईच्छा केसी महतोले गरेकी थिइन। ३ वर्षभित्रमा अपाङ्गता भएका एकल महिलाहरूको क्षेत्रमा गर्न सकिने कार्यहरूको सूची समेत बनाइएको थियो। तीन ओटा समूह विभाजन गरी अपाङ्गता एकल महिलाहरूको समस्या चूनौती र समधानको उपाय सहभागीबाट टिपोट गरिएको थियो। यसले गर्दा काम गर्नमा सहज हुने पहिचान नेपालकी अध्यक्ष केसी महतोले बताइन।