Jun 09 2026

Jun 09 2026 | मंगलवार, जेठ २६ गते २०८३

ललितपुर महानगरको बजेट सात अर्ब ४६ करोड

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि गत वर्षको तुलनामा बजेटको आकार बढाएर ल्याएको छ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि सात अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेको छ ।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले सोमबार नगरसभाको पाँचौँ अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक वर्षका लागि सात अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट वक्तव्य सार्वजनिक गरेकी हुन् ।अगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको भन्दा १५ प्रतिशत बढी रहेको उपमेयर शाक्यले बताइन् ।

चालू आर्थिक वर्षका लागि महानगरले ६ अर्ब ५० करोड पाँच लाख ८८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । स्रोत व्यवस्थापनतर्फ संघीय सरकारबाट एक अर्ब ३२ करोड ८० लाख र बागमती प्रदेश सरकारबाट २२ करोड ९२ लाख ९२ हजार प्राप्त हुने अनुमान गरिएको उपप्रमुख बज्राचार्यले बताइन् ।

महनागरले विश्व सम्पदा क्षेत्रभित्र भवन सम्पदा नियम पालना गरी निर्माण गरिएका घरहरुको सम्पति कर मिनाहा गर्ने भएको छ । त्यस्तै, विद्युतीय सवारी प्रयोग गर्ने ललितपुरबासीले सम्पत्ति कर छुट मागेमा सम्पत्ति करमा ५ प्रतिशत कर छुट दिने उल्लेख छ ।