Jun 09 2026

Jun 09 2026 | मंगलवार, जेठ २६ गते २०८३

बिर्तामोड–शनिश्चरे सडक १५ करोड लागतमा कालोपत्र

झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब रु साढे १५ करोडको लगातमा कालोपत्र गर्ने काम थालिएको छ । पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्रसुरु भएको सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर उज्ज्वल खतिवडाले जानकारी दिए ।

‘बहुवर्षे योजनाअनुसार सडक निर्माण भइरहेको छ’, उनले भने, ‘मौसमले साथ दियो भने तीन–चार दिनभित्र काम सकिन्छ ।’ बिर्तामोडको टाटा शोरुमदेखि महानन्द चोकसम्मको करिब पाँच सय मिटर सडकको चौडाइ १५ मिटर हुनेछ भने बाँकी सात मिटर हुनेछ । कालोपत्रको मोटाइ ४० सेन्टी मिटर रहने उनले बताए । सडक निर्माणमा ढिलाइ भएको जनाउँदै तीन महिनाअघिदेखि स्थानीयवासीले सडक अवरुद्ध गर्दै आएका थिए । सडक निर्माण सुरु भएसँगै स्थानीयवासी खुशी भएका छन् ।

‘सञ्चालन निर्वाचन रणनीतिक सडक’ शीर्षकअन्तर्गत सडक कालोपत्र सुरु भएको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देन तामाङले जानकारी दिए । ‘सडक कालोपत्र नहुँदा स्थानीयलाई निक्कै समस्या भएको थियो’, उनले भने, ‘सरोकारवाला सबैको संयुक्त पहलकदमीबाट कालोपत्र सुरु भएको हो ।’ सडक कालोपत्रका लागि रु २५ करोडको कबोल अङ्क तोकेर बोलपत्र आह्वान गरिएको पनि निर्माण कम्पनीले रु १५ कराड ५० लाखमा ठेक्का लिएको छ ।