Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने अख्तियारको निर्णय

विभिन्न आधा दर्जन अनियमितताको घटनामा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउने निर्णय गरेको छ । अर्याल भ्रष्टाचारका विभिन्न प्रकरणमा तानिएका छन् । उनीविरुद्ध आधा दर्जन मुद्दामा अख्तियारले अनुसन्धान गरिरहेको छ ।

अर्यालविरुद्ध अन्तःशुल्क स्टिकर छपाइ प्रकरणसम्बन्धी अनियमिततामा मुद्दा चलाउने निर्णय भएको स्रोतले जानकारी दिएको छ । अर्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी छ । अर्यालविरुद्ध टेरामक्स प्रविधि खरिद प्रकरण र सेक्युरिटी प्रिन्टिङका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसंग सञ्चार सचिव हुँदा समेत आर्थिक लेनदेन गरेको आरोपमा अनुसन्धान जारी छ । ‘उहाँलगायत केही सार्वजनिक व्यक्तिहरूमाथि भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय भएको छ,’ अख्तियार स्रोत भन्छ, ‘तर उच्च पदस्थ अधिकारीहरू जोडिएको र संवेदनशील विषय भएकाले अरू सबै विवरण हामीले गोप्य राखेका छौं ।’

अख्तियार स्रोतका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रकरण र सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्कको स्टिकर खरिद गर्ने निर्णयमा उनको संलग्नता पुष्टि भएको थियो । ‘ती दुई फाइलको अनुसन्धान करिब–करिब टुंगिएको थियो,’ अख्तियार स्रोतले भन्यो, ‘त्यसैले मुद्दा दायर गर्ने निर्णय भएको हो । विशेष अदालतमा आरोप पत्र दायर हुनासाथ अरू थाहा हुन्छ ।’

यससँगै कामु मुख्यसचिवमा तोयानारायण ज्ञवाली, रामकृष्ण सुवेदी र एकनारायण अर्याल हुने सम्भावना बढेर गएको छ । सरकारले आवश्यक ठानेको खण्डमा प्रधानमन्त्री कार्यालयमा कार्यरत वरिष्ठ सचिवलाई समेत कामु मुख्यसचिवको जिम्मेवारी दिन सक्नेछ ।