Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

भूकम्पको नौं वर्षपछि असनको ‘इटाचापा’ को पुनर्निर्माण थालियो

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको काठमाडौँ महानगरपालिका– २७ असनस्थित ऐतिहासिक महत्वको सम्पदा ‘इटाचापा’ को पुनर्निर्माण सुरु भएको छ ।

विसं १९९० को भूकम्प थेगेको यो सम्पदा २०७२ मा भत्केपछि यसको पुनर्निर्माणमा गुठी संस्थान र काठमाडौँ महानगरपालिकाबीच केही समय हानथाप भएको थियो । सम्पदा महानगरअन्तर्गतको भएकाले वडाको पहलमा पुनर्निर्माण थालिएको वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीले जानकारी दिए ।

ऐतिहासिक महत्वको यो सम्पदा रु दुई करोड ४९ लाख ३७ हजारमा मा पुनर्निर्माण थालिएको उनले सुनाए । तीन वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य छ । यो भवनमा प्रत्येक वर्ष विजया दशमीको भोलिपल्ट कुमारीलाई खाना खुवाउने परम्परा छ । यसलाई नेपाल भाषामा ‘मरजा’ भनिन्छ । सोही दिन यहाँ अन्नपूर्णाको जात्रा पनि चलाइन्छ ।

विसं २०४० सम्म ल्हासाबाट सामान ल्याउने व्यापारी १० दिनसम्म यहाँ बस्ने गरेका उनले बताए । ल्हासा–काठाडौँ यात्राका क्रममा कुनै रोगको संक्रमण भए त्यो १० दिनमा प्रभावहीन हुने ठानेर उनीहरू एकान्तबास बसेका आफूले पनि देखेको वडा अध्यक्ष खड्गीले बताए ।