प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको वचत तथा सम्पत्ति हिनामिना गरी ठगी गरेको कसूरमा कास्की प्रहरीले थप ३ जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत मोदी–१ स्थायी घर भई हाल पोखरा– १८ बस्ने ५५ वर्षीया धनकुमारी गुरुङ, सोही ठाउँ घर भई हाल पोखरा–८ बस्ने ४७ वर्षीया सीताकुमारी गुरुङ र पोखरा ३, तेर्सापट्टी बस्ने ४७ वर्षीया जीवन सार्की रहेका छन् ।
उनीहरुलाई पक्राउ गरी उक्त कसूरबमोजिम सजायको लागि कास्की जिल्ला अदालतसमक्ष पेश गरिएको छ । उक्त ठगी प्रकरणमा अझै ५३ जना फरार छन् । कास्की जिल्ला अदालतले हिजो बिहीबार ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । यस्तै, २ जनालाई धरौटीमा छाड्न भनेको थियो ।
न्यायाधीश रामचन्द्र शर्माको इजलासले बिहीबार उक्त मुद्दाका मुख्य योजनाकार प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापासहित ७ जना पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
यस्तै, सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र उत्तम मगरलाई पनि थुना पठाउने आदेश दिएको थियो ।