Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

खडेरीले खेतबारीमै सुक्न थाल्यो बाली

खडेरीका कारण खेतबारीमै बाली सुक्न थालेपछि यहाँका किसान चिन्तामा परेका छन् । किसानका लागि यो याम कोदोदेखि अन्य बाली लगाउने समय हो । तर समयमै वर्षा नहुँदा अहिलेसम्म खेतबारीमा कोदो लगाउन नसकिएको तिला गाउँपालिका–१ का स्थानीय किशोर रावतले बताए ।

‘पानी परेको छैन, खेतबारी सुक्खा छन् । सिँचाइको कुनै सुविधा छैन । यसपालि असार लागे पनि खेतीपातीको काम भएको छैन । गाउँमा खाद्यन्न सङ्कट आउने हो कि भन्ने चिन्ता थपिएको छ,’ उनले भने । उनका अनुसार गतवर्ष समयमै पानी पर्दा कोदो र सिमीको उत्पादन राम्रो भएको थियो । यस वर्ष वर्षा नहुँदा कृषि उत्पादनमा ह्रास आउन सक्ने उनले बताए ।

विशेष गरी यहाँका किसानले हिउँदे याममा लगाएका नयाँ स्याउका बिरुवामा खडेरीका कारण क्षति पुगेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइ जुम्लाका कृषि अधिकृत खेमराज शाहीले जानकारी दिए । हिउँद याममा राम्रोसँग हिमपात र वर्षा नभएपछि गहुँ, जौलगायत हिउँदेबाली पनि राम्रोसँग उत्पादन नभएको हिमा गाउँपालिका– ४ का किसान रतन रोकायाले बताए ।

जिल्लाका अधिकांश ठाउँमा सिँचाइ सुविधा पुगेको छैन। वर्षा नभएको खण्डमा यो वर्ष जिल्लामा खाद्यन्न बालीदेखि स्याउ उत्पादनमा कमी आउनसक्ने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । जिल्लामा हालसम्म १६ हजार घरधुरी स्याउ खेतीमा आबद्ध रहेको कार्यालयले जनाएको छ । यहाँका किसानको आम्दानीको मुख्य आयस्रोत नै स्याउ खेती हो । पछिल्लो समयमा स्याउ खेतीको बीमाको महत्वबारे जानकार भएपछि जिल्लाका आठवटै स्थानीय तहका करिब ८० प्रतिशत स्याउ किसानले बीमा गरेको जनाइएको छ ।

पानी अभावले रोपाइँमा समस्या
असार धान रोप्ने महिना हो । विगतका वर्षमा जेठको अन्तिमसम्म प्रायःजसो जिल्लामा खेतमा रोपाइँ भइसकेको हुन्थ्यो । तर यसवर्ष पानी नपर्दा यहाँको हिमा, तिला गाउँपालिका किसानले रोपाइँ गर्न पाएका छैनन् । पानी समयमै नपर्दा खेतीयोग्य जमिनमा नै धान रोप्न नसकिएको हिमा गाउँपालिका–४ का स्थानीय माया रोकायाले जानकारी दिए ।

सिँचाइ पुगेका खेतबारीमा रोपाइँ सम्पन्न भइसकेको छ । आकाशे पाानीको भरमा परेका किसानका लागि यो वर्ष खेतमा रोपाइँ हुने नसकेको किसान बताउँछन् ।