Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

सडकमै पार्किङ गर्न पाउनु पर्छ भन्नेहरूले न्यूरोडमा फुटपाथ बढाउँदा विरोध गरेः मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले सडकमै पार्किङ गर्न पाउनु पर्छ भन्नेहरूले अहिले न्यूरोडमा फुटपाथ बढाउँदा विरोध गरेको आरोप लगाएका छन् । मेयर शाहका अनुसार न्यूरोडमा तीन फिट फुटपाथ बढाउन लागिएको हो ।

‘न्यूरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले तीन फिट फुटपाथ बढाउँदा विरोध गरिरहेका छन्,’ शुक्रबार मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सडकमा तीन फिटभन्दा बढी ढाकेर पार्किङ गर्दा सडक सानो भएर गाडी गुड्न साँघुरो नहुने तर त्यही पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी गुड्नै साँघुरो हुने कसरी हुन्छ?’

उनले सडक विभागले बनाएको मापदण्डअनुसार दैनिक एक लाख मानिस आवतजावत गर्ने सडक फुटपाथ कत्रो चाहिन्छ हेर्न पनि आग्रह गरेका छन् । सडक विभागले त्यो मापदण्ड पालना गर्न बनाएको हो कि होइन भन्ने पनि सोध्नुपर्ने उनको भनाइ छ । ‘प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्यूरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ,’ उनले भनेका छन् ।

विकास गर्ने हो भने र बदलिदो समयमा न्यूरोडलाई अझै व्यवसायिक, सुन्दर बनाउन जुट्नुपर्ने मेयर शाहको भनाइ छ । काठमाडौं महानगरले न्यूरोड क्षेत्रका सडक बिना अनुमति काटेको भन्दै सडक विभागले महानगरलाई पत्र नै पठाएको छ । यही कारण महानगर र सडक विभागबीच असमझदारी बढेको छ ।