Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

चितवन राष्ट्रिय निकुञ्जको सुक्खा क्षेत्रमा डिपबोरिङ

लामो समयको खडेरीका कारण चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्र तथा घाँसे मैदान सुक्खा हुन थालेपछि डिपबोरिङ गरी पानीको आपूर्ति गर्न थालिएको छ ।

निकुञ्जको पश्चिम क्षेत्र सुकीभारसँगै अन्य क्षेत्रमा समेत पानीको सतह अघिल्ला वर्षको तुलनामा घट्दै गएपछि सिमसार र घाँसे मैदान क्षेत्रमा पानीको अभाव देखिएको हो। पानीको अभाव हुँदै गएपछि निकुञ्जले सो क्षेत्रमा पर्याप्त पानी पुर्‍याउनका लागि डिपबोरिङ गरी पानीको पूर्ति गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनले भने, ‘नारायणी नदीको पश्चिम भँगालो नवलपारसीको सुकिभार र भरतपुरको देवनगर क्षेत्रमा डिपबोरिङ गरिएको हो ।’

सिमसार क्षेत्रमा पानीको अभाव भएसँगै वन्यजन्तु पानी र आहारा खोज्न बस्ती पस्न थाल्ने हुँदा बस्ती पस्नेक्रम रोक्नका लागि डिपबोरिङमार्फत सिँचाइको व्यवस्था गरिएको हो। सुक्खा क्षेत्र सिँचाइ भएपछि वन्यजन्तु निकुञ्जमै भुल्ने उनले बताए । उनका अनुसार घाँसे मैदान, सिमसार र पोखरी रहेका तीन क्षेत्रमा पानीका लागि डिपबोरिङ गरिएको हो । निकुञ्जका भिम्ले घाँसे मैदान, सुकीभार घाँसेमैदान र भरतपुरको देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा डिपबोरिङ गरिएको हो। भिम्ले र देवनगरमा नयाँ बोरिङ जडान गरिएको हो भने सुकीभार क्षेत्रमा बिग्रिएको बोरिङ मर्मत गरिएको उनले जानकारी दिए ।

सुकीभार क्षेत्रमा वन्यजन्तुको उपस्थिति बढाउनका लागि सिमसार, घाँसे मैदान र पोखरी भएका क्षेत्रमा डिपबोरिङ गरी पानीको व्यवस्था गर्दा यसले घाँसे मैदानमा सिँचाइ, सिमसार क्षेत्रमा पानीको पर्याप्तता र पोखरीमा नियमित पानी रहन सहज हुने उनले जानकारी दिए । हाल नारायणी नदीको पश्चिम भँगालो क्षेत्रमा पर्ने निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पानीको सतह घट्दै गएकाले वन्यजन्तु बस्ती पस्ने जोखिम हुन नदिन डिपबोरिङको पानी महत्वपूर्ण हुने उनको भनाइ छ ।