Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

कान्तिपुरका अध्यक्ष सिरोहियालाई प्रहरीकै गाडीमा धनुषा लगियो

नागरिकता कीर्तेसम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा पठाइएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कान्तिपुरको कार्यालयबाटै पक्राउ गरेका उनलाई आजै थप अनुसन्धानका लागि जाहेरी दर्ता भएको जिल्ला धनुषा पठाइएको हो ।

कार्यालयबाट प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई र प्रहरी उपरीक्षक रविन्द्र रेग्मीको नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । ‘हाम्रो काम यहाँबाट नियन्त्रणमा लिएर पठाउने हो, पठाइयो, अब बाँकी काम धनुषाले गर्छ’, रेग्मीले भने । उनलाई आजै धनुषा जिल्ला अदालतले पक्राउका लागि अनुमति दिएको थियो । अनुमति पाएको केही घण्टामै पक्राउ गरेको हो । यसअघि वैशाख १६ गते उनीविरुद्ध नागरिकता कीर्तेसम्बन्धी कसुरमा जाहेरी परेको थियो । सोही घटनाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो ।

‘त्यहाँ भीडमा हामीले उहाँकै गाडीमा यहाँ ल्याएका थियौं । अहिले प्रहरीको गाडीमा राखेर लगिएको छ । अन द वे हुनुहुन्छ,’ एसपी रेग्मीले भने । सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै वैशाख १७ गते जाहेरी परेको थियो ।

पक्राउ गर्न जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले पुर्जी जारी गरेका थिए । यसअघि जाहेरी परेको खबर बाहिरिएपछि सिरोहियाले विज्ञप्ति जारी गरेका थिए । उनले राज्यले २०३३/२०३४ सालमा संकलन गरेको अभिलेखका आधारमा २०३६ सालमा १८ वर्ष पुगेर पहिलो नागरिकता लिएको उल्लेख गरेका थिए। त्यस्तै २०५७ सालमा त्यसको प्रतिलिपि लिएको तर दुईटा नागरिकता नलिएको भन्दै विज्ञप्ति जारी गरेका थिए ।

सिरोहियाले आफूविरूद्ध जाहेरी परेपछि सर्वोच्चमा निषेधको आदेश माग गर्दै रिटसमेत दायर गरेका थिए । त्यसको अर्को पेशी जेठ १४ गतेका लागि तोकिएको छ । यस्तै बुधबार मात्रै पनि सर्वोच्चमा पक्राउ आदेश बदर गरिपाऊ भन्दै रिट निवेदन दिएका थिए । यद्यपि उक्त रिट मंगलबार दर्ता भएको छैन ।