Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै मह शिकार

देशका भिरपहरामा गरिने मह शिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले मह शिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता जङ्गलमै पुग्न थालेपछि ग्रामीण क्षेत्रको आयआर्जनमा सहयोग पुगेको बताए ।

‘अक्करे भिरमा जोखिम मोलेर गरिने मह शिकार वसन्तयाममा धवलागिरि चक्रीय, गुर्जा र ढोरपाटन क्षेत्रको भ्रमणमा आउने पर्यटकका लागि आकर्षण बनेको छ’, उनले भने, ‘अत्यधिक माग हुने भिरमह बिक्री गरेर शिकारीहरूले केही रकम आर्जन पनि गरेका छन् ।’ केही दिनअघि मङ्गला गाउँपालिका–१ थाइवाङको भिरमा तीन सय लिटर मह निकालेका धवलागिरि गाउँपालिका–२ खोरियाका मोतिप्रसाद पाइजाको १० जनाको टोलीले मङ्गलबार खोरियाको महभिरमा ३० लिटर मह उत्खनन गरेको छ ।

स्वाँतमा लोकबहादुर पाइजाको टोलीले ७० लिटर मह निकालेको जनाएको छ । स्वाँतको भिरमा आज पनि मह शिकारलाई निरन्तरता दिइने भएको छ । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले मह शिकार गरेर गाउँका बेरोजगारलाई रोजगारी र आयआर्जनको अवसर मिलेको बताए ।

एउटा मह शिकार टोलीमा कम्तीमा १० जना सहभागी हुन्छन् । म्याग्दीका महशिकारीलाई कास्की, बागलुङबाट पनि ज्याला दिएर बोलाउने गरेका छन् । भिरमा मौरीले लगाएका गोला काट्नका लागि मह शिकारी डोरी ९पराङ० मा झुण्डिएर मह निकालिने खोरियाको मह शिकारी टोलीका सदस्य सबहादुर चोचाङ्गी पुनले बताए ।

वसन्त र शरद् ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसी र शरद्मा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त समय हो । म्याग्दीमा प्रतिलिटर रु दुई हजार पाँच सयदेखि रु तीन हजार पाँच सयका दरले भिरमह बिक्री हुने गर्छ । स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिप्रवर्द्धक हुनुका साथै धार्मिक कार्यका लागि प्रयोग हुने मह भिरबाट ननिकाल्दै अग्रिम पैसा दिएर ग्राहकले खरिद गर्ने गरेका अन्नपूर्ण–५ स्वाँतका महशिकारी लोकबहादुर पाइजाले बताए ।

‘गाउँका बासिन्दा, बजार र विदेशबाट मह किन्न ग्राहक जङ्गलमै आउँछन्’, उनले भने, ‘भिरमहलाई बजारको समस्या छैन ।’ स्थानीय सामुदायिक वन समूहलाई कर तिरेर निकालिने भिरमह निकासी गर्न डिभिजन वन कार्यालयबाट छोडपुर्जी लिनुपर्छ । मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा शिकारी बाँडिएका हुन्छन् । एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी झुण्ड्याउँछ भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछ । त्यतिबेला मह निकाल्ने विशेष ध्यान पुर्‍याउनु पर्छ । जब परङमार्फत गएका शिकारीले गोलामा धुँवा झोस्न सुरु गर्छ, माहुरीले टोक्ने डरले वरपरका सबै शिकारी रुख र ओढारमा लुक्छन् ।

माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरु बाहिर आउँछ अनि मह निकाल्न सजिलो हुने गर्छ । मुख्य शिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले भुइँसम्म ल्याउने गरिएको धवलागिरि गाउँपालिका–२ खोरियाको महशिकारी मनबहादुर चोचाङ्गीले बताए ।