Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

शिक्षा मन्त्री सुमना श्रेष्ठलाई नेत्र चापागाईंको खुल्ला पत्र

बाल विकास सम्बन्धी समस्या र समाधान

नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष नेत्र चापागाईंले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई खुल्ला पत्र लेखेका छन् । अध्यक्ष चापागाईंले खुल्ला पत्र मार्फत प्रारम्भिक बाल विकास सम्बन्धी समस्या र समाधानसहित गम्भिर ध्यानाकर्षण गर्दै ६ बुँदे मागसहित पत्र लेखेका छन् । उनले सो माग सम्बोधन नभएसम्म निरन्तर सडकमा उभिएर नागरिकको आवाज बुलन्द गर्नेसमेत पत्रमा बताएका छन्।   

६ बुँदे मागसमेत रहेको पत्रमा 'हामीलाई विश्वास छ यी अवोध बालबालिका बोल्न सक्दैनन्‌ त्यसैले आजसम्म धुलोमा बसे, हात थापेर खाए, तपाई शिक्षा मन्त्री हुँदा पक्कै यो विषय सम्बोधन हुनेछ भन्ने हामीलाई विश्वास छ, तर वार्षिक बजेट तथा नीति कार्यक्रमको छलफल हुँदै गरेको अवस्थामा यी माग सम्बोधन नभएसम्म हामी निरन्तर सडकमा उभिएर नागरिकको आवाज बुलन्द गर्नेछौँ। हामीलाई विश्वास छ, हाम्रो संघर्षले तपाईको शिक्षा सुधार गर्ने हुटहुटीमा थप बल पुग्ने छ।' लेखिएको छ।

यस्तो छ शिक्षा मन्त्री सुमना श्रेष्ठलाई नेत्र चापागाईंले लेखेको पत्र - 

प्रारम्भिक बाल विकास (ECD) सुधार सम्बन्धी शिक्षामन्त्रीलाई खुल्ला पत्र ।

माननीय शिक्षामन्त्री ज्यु नमस्कार!

सर्वप्रथम यहाँको सफल कार्यकालको शुभकामनासहित नजिकिँदै गरेको बजेट अधिवेशनको पूर्वसन्ध्यामा शिक्षासँग सम्बन्धित विद्यालय शिक्षा ऐन यति बेला संघीय संसदमा छलफलमा छ । यो खुल्लापत्र मार्फत विशेष गरि प्रारम्भिक बाल विकास (ECD) सम्बन्धी समस्या र समाधानसहित तपाईंको गम्भिर ध्यानाकर्षण गर्दछौँ ।

१. हाल सरकारले सञ्चालनमा ल्याएको प्रारम्भिक बाल विकास (ECD) जम्मा एक तहको छ । त्यसैगरी नेपाल सरकारले नै नीजि विद्यालयहरुलाई चार तहः Play group, Nursery, LKG, UKG लाई मान्यता दिएको छ । यो नीतीगत गम्भिर कमजोरी भयो। यसलाई बालबालिका सम्बन्धी अन्तर्राष्ट्रिय कानुन, नजिर र देशको अवस्था हेरेर नीतिगत रुपमा नै सच्चाएर कम्तिमा तीन तहको प्रारम्भिक बाल विकास (ECD) व्यवस्था गर्न तपाईको ध्यानाकर्षण गराउँदछौ । 

२. प्रारम्भिक बाल विकास (ECD) अत्यन्त संवेदनशिल ठाउँ हो तर त्यहाँ आज अध्यापन गराउने शिक्षक/शिक्षिका अत्यन्त न्यून पारिश्रमिकसहित न्यून योग्यताका हुनुहुन्छ । यो आर्थिक वर्षबाट कम्तिमा स्नातक योग्यता कायम गरि योग्यतानुसारको तलब, सेवा, सुविधा र बालमनोविज्ञान, केयर गिभर, मन्टेश्वरी सम्बन्धी तालिमको व्यवस्था गर्न हामी जोडदार माग गर्दछौँ ।

३. बालबालिकाको सिकाई भनेको खेलाई पनि हो । आज हाम्रो विद्यालयमा भएको कक्षा कोठा बालमैत्री समेत छैनन्‌ । पर्याप्त सिकाई सामग्री, खेल सामग्री र उपयुक्त पाठ्यक्रम पनि छैन । त्यसैले यो आर्थिक वर्षबाट बाल शिक्षालाई भौतिक संरचनादेखि सम्पूर्ण सामग्री र उपयुक्त पाठ्यक्रमको लागि बजेट विनियोजन तथा नीति र कार्यविधि निर्माण गरियोस ।

४. विद्यार्थी खाजा कार्यक्रम अत्यन्त राम्रो कार्यक्रम हो तर आज बजारको महङ्गीले आकाश छुँदा पनि जम्मा रु. १५ खाजा खर्च अत्यन्त न्यून भएको हुँदा यस बजेटमा एक विद्यार्थी बराबर न्युनतम रु. ५० खाजा खर्चको व्यवस्था गर्न हामी जोडदार माग गर्दछौँ ।

५. यस्ता सामान्य समस्या लिएर सरकारसँग नागरिकहरु सम्बन्धित निकायमा जाँदा स्थानीय तहले प्रदेश देखाउने, प्रदेशले केन्द्र देखाउने र केन्द्रले स्थानीय तह देखाउने समस्या भएको हुँदा तीन तहको सरकारहरुको क्षेत्रधिकार स्पष्ट पारियोस ।

६. सरकारले, विद्यालयमा खाना पकाउने/खुवाउने सामग्री देखी कर्मचारी/सहयोगी शिक्षकको व्यवस्था यही आर्थिक वर्षबाट गर्न जोडदार माग गर्दछौँ।

हामीलाई विश्वास छ यी अवोध बालबालिका बोल्न सक्दैनन्‌ त्यसैले आजसम्म धुलोमा बसे, हात थापेर खाए, तपाई शिक्षा मन्त्री हुँदा पक्कै यो विषय सम्बोधन हुनेछ भन्ने हामीलाई विश्वास छ, तर वार्षिक बजेट तथा नीति कार्यक्रमको छलफल हुँदै गरेको अवस्थामा यी माग सम्बोधन नभएसम्म हामी निरन्तर सडकमा उभिएर नागरिकको आवाज बुलन्द गर्नेछौँ। हामीलाई विश्वास छ, हाम्रो संघर्षले तपाईको शिक्षा सुधार गर्ने हुटहुटीमा थप बल पुग्ने छ।

धन्यवाद! 

 नेत्र चापागाईं
केन्द्रीय अध्यक्ष
नेपाल समाजवादी विद्यार्थी युनियन
२८, वैशाख, २०८१

शिक्षामन्त्रिलाई पत्र_page-0001.jpg