धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले आज बुधबार काठमाडौंको टुँडिखेलमा जारी सिप मेला २०८१ को अवलोकन गरेका छन् ।
मेलामा विभिन्न विधाका पेसासँग सम्बन्धित तालिम सञ्चालन, व्यवस्थापन, सिकाइने विषय, यसका अपेक्षित उपलब्धिबारे उनले जानकारी लिएका छन् ।उनलाई मेला अवलोकनका लागि काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाहले सहजीकरण गरेका थिए । मेला काठमाडौं महानगरपालिकाले गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत सञ्चालन गरिरहेको छ ।
२०८१ सालको शुभारम्भमा २०८१ जनालाई सिपमूलक तालिम दिएर रोजगार, स्वरोजगार वा अन द जब ट्रेनिंगसँग जोड्ने लक्ष्यसहित कार्यक्रम सुरु भएको हो । अवलोकनपछि हमालले भने, ‘यो ठूलो कार्यक्रम हो । यसले युवाहरुलाई आशा दिलाएको छ । तालिम पाएका जनशक्तिलाई रोजगार वा स्वरोजगार बनाउने योजना महत्वपूर्ण छ ।’
रोजगार संयोजक देवेन्द्र केसीका अनुसार काठमाडौंको सिकाइ धनगढीमा विस्तार गर्ने विषयमा प्रमुख हमालले चासो दिएका छन् । मेलाअन्तर्गत १० वटा विधामा ३० वटा पेसासँग सम्बन्धित तालिम सञ्चालनमा छ । तालिमका कक्षाहरु हरेक दिन विहान ८ बजे सुरु हुन्छन् । फास्टफुड एण्ड कुकिङ र बेकरीका कक्षाहरु ४-४ घण्टा हुन्छन् । अरु कक्षाहरु ३-३ घण्टा हुन्छन् ।