Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

शपथपछि सांसद सुहाङले भने–बुवाको मार्गदर्शनअनुसार अघि बढ्छु (भिडियोसहित)

प्रतिनिधि सभाका नव निर्वाचित सांसद सुहाङ नेम्वाङले इलामेली जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । इलामका जनताको माया, विश्वास र भरोसाका कारणबाट आफू विजयी भएकाले सोहीअनुसार अगाडि बढ्ने उनले बताए ।

सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आज आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा सांसद नेम्वाङले यस्तो बताएका हुन् । विकासका आधार कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्रवर्द्धन गर्न नीतिगत व्यवस्था गर्ने र भइरहेको नीति परिमार्जनको पक्षमा लाग्ने उनले बताए ।

दिवङ्गत बुवा सुवासचन्द्र नेम्वाङले देखाएको मार्गदर्शनअनुसार आफू अघि बढ्ने उनले बताए । इलामेली जनताको हितमा काम गर्ने उनको प्रतिबद्धता थियो । सांसद नेम्वाङले समग्र जिल्लाका समस्या र इलामको विकासलाई प्रभावकारी रुपमा उठाउने विश्वास समेत दिलाए ।

’नेपालमा धेरै विकासका काम अघि बढेका छन् । धेरै नीति निर्माण भएका छन् । सुशासनमा कमजोरी देखिँदा नतिजा आउन सकेको छैन । एकअर्कासँग सहकार्य गरेर समन्वयकारी भूमिका खेलेर संविधानलाई कार्यान्वयन गर्न सकिन्छ भन्नेमा एकताबद्ध भएर लाग्नु पर्छ । बुवा (सुवास नेम्वाङ) ले देखाउनु भएको मार्गनिर्देश अनुसार थाती रहेका जिम्मेवारी पूरा गर्नेछु’, सांसद नेम्वाङले भने ।