Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

एमालेविरुद्ध लगाइएको कथित प्रतिगमनकारीको भाष्य झुटो सावित भयोः ओली

सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई लगाइएको कथित ‘प्रतिगमनकारी’ को आरोप झुटो साबित भएको दाबी गरेका छन् । ललितपुरको गोदावरीमा सुरु पार्टीको महाधिवेशन प्रतिनिधि परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले उक्त दाबी गरेका हुन् ।

उनले सत्ता साझेदार नेकपा एकीकृत समाजवादीलाई लक्षित गर्दै गएको निर्वाचनमा कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने, वामपन्थी सरकार ढाल्ने र पूँजीपति वर्गको नेतृत्वमा सरकार बनाउन निर्णायक भूमिका खेल्ने दक्षिणपन्थी अवसरवाद जनमतबाट अस्वीकृत भएको टिप्पणी गरे । राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै ०७९ को निर्वाचन एमालेलाई नियमित र सामान्य लोकतान्त्रिक प्रक्रिया नभएको बताए ।

उनले भने, ‘प्रतिपक्षमा रहेका हाम्रा दलविरुद्ध सत्तामा रहेका ६ दलको घेराबन्दी थियो । प्रतिपक्षका विरुद्ध सत्तापक्षको त्यस्तो गठबन्धन अलोकतान्त्रिक मात्रै थिएन । अराजनीतिक पनि थियो । हाम्राविरुद्ध सत्ता पक्षले साधन र स्रोतको दुरुपयोग गर्‍यो । निर्वाचन आयोगलाई पनि प्रभावित पार्‍यो । निर्वाचन होइन पार्टीले एक किसिमले युद्ध नै लड्नु परेको थियो ।’

घेराबन्दीका बाबजुद पनि समानुपातिकतर्फ सर्वाधिक मत ल्याएर जनताको रोजाइको पहिलो पार्टी बनेको बताए । स्रोत र साधनको चरम दुरुपयोग गर्दा पनि ६ दलको गठबन्धनले सामान्य बहुमत समेत ल्याउन नसकेको बताए । नेकपा एसलाई लक्षित गर्दै भने, ‘गठबन्धनको बलमा पहिलो पार्टी बने पनि कांग्रेसको जनाधार विगतमा भन्दा खस्किएको छ । कांग्रेससँगको मतान्तर दोब्बरभन्दा बढी बढेको छ । कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने, वामपन्थी सरकार ढाल्ने र पूँजीपति वर्गको नेतृत्वमा सरकार बनाउन निर्णायक भूमिका खेल्ने दक्षिणपन्थी अवसरवाद निकै कमजोर भयो र जनमतबाट अस्वीकृत भयो । हाम्रो पार्टीविरुद्ध प्रयोग गर्न खोजिएको कथित प्रतिगमनको भाष्य झूटो थियो खण्डित भयो ।’