Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

पशुपतिनाथको गजुर देखिने गरी सुरु भयो नयाँ होटल क्रिस्टर पशुपति (अन्तर्वार्ता)

क्रिस्टल पशुपति होटलका अध्यक्ष हुन् शिव प्रसाद दंगाल । इञ्जिनियरिंग पृष्ठभूमि भएका उनी विभिन्न प्रकृतिको व्यापार व्यवसायमा सक्रिय छन् । काठमाडौंको थापाथलीस्थित टे«ड टावर स्थापना र सञ्चालनको अनुभवले आत्मविश्वास सँगालेका दंगाल अब पर्यटन क्षेत्रको सेवा व्यवसायमा सरिक भएका छन् । उनले यही नयाँ वर्षको पहिलो दिन पशुपति क्षेत्रको छेउमै क्रिस्टर पशुपति नाम राखेको होटल सुरु गरेका छन् । धार्मिक पर्यटन नेपालका लागि महत्वपूर्ण क्षेत्र हो भन्ने विश्वास बोकेका दंगालले नेपाल र भारतका हिन्दू धर्मसँग सम्बध्द स्थलहरुको आवागमनलाई संस्थागत रुपमै अघि बढाउन दुवै देशका सरकारहरुले नीतिगत निर्णय गर्नुपर्ने धारणा राखे । 

पर्यटन क्षेत्रको विकास र होटल व्यवसायको भविष्य बारे दंगालसँगको संक्षिप्त वार्ताको सम्पादित अंशः

पशुपतिनाथको पृष्ठभूमिमा पशुपतिनाथकै नाम राखेर होटल सञ्चालनमा ल्याउनु भएको छ, यो नाम राख्नुको पछाडि कुनै उद्देश्य छ ? 

पक्कै पनि छ । पवित्र पाशुपत् भूमिमा गरिने व्यापार पशुपतिनाथको आशिर्वाद बिना सम्भव नहोला भनेर हाम्रो होटलको नामाकरण नै क्रिस्टल पशुपति भनेर राख्यौं । यसको अर्थ पशुपतिभित्रको पनि शुद्ध क्रिस्टल हो भन्ने हामीले विचार राखेका छौं । 

यतिबेला व्यापार व्यवसायले गति लिन सकेको छैन भन्ने गुनासो सुनिन्छ । ठूलो लगानीमा होटल सञ्चालनमा ल्याउनुभएको छ, भविष्य कस्तो देख्नुभएको छ ? 
 
होटल  व्यवसायले व्यवसायले गति लिनेकुरामा म आशावादी छु । देशको अर्थतन्त्रमा शिथिलता आएको छ, त्यसबाट हामी अछुतो रहन सकेका छैनौं । विस्तारै देशको स्थिति पनि सुध्रेर जान्छ र केही भएपनि विदेश पलायन हुने युवालाई रोजगारी प्रदान गरेर देशमै बसेर यही केही गर्न सकौं भन्ने उदेश्यले यो अप्ठ्यारो समयमा पनि हामीले होटल सञ्चालनमा ल्याएका    छौं । आशावादी भएर सत्कर्म गर्दै जाउँ आज नभए पनि भोली त कर्मको फल आइ नै हाल्छ भन्ने हाम्रो विश्वास रहेको छ । 

उपत्यका लगायत ठूला शहरमा सञ्चालन गरिने कतिपय होटलहरुमा निश्चित क्षेत्रका वा वर्गका पर्यटकलाई आर्कर्षित गर्ने गरी टार्गेट गर्ने प्रचलन बढेको पाइन्छ, तपाईंहरुले पनि धार्मिक झुकाव भएको जस्तो महसुश हुने गरी होटल सुरु गर्नु भएको छ, किन ? 

पक्कै पनि हामी योजना अनुसार नै अगाडि बढेका हौं । त्यो कुरालाई नामले नै दर्शाउँछ । संसारभरीबाट पशुपतिनाथको दर्शन गर्न यहाँ आउने राष्ट्रिय अन्तर्राष्ट्रिय धार्मिक पर्यटकलाई विशेष ध्यानमा राखेका छौं । उहाँहरुको पहिलो रोजाई नै यही होटल होस् र होटलकै कोठाहरुबाट पशुपतिनाथको पहिलो दर्शन गर्न पाउन् भन्ने हाम्रो चाह हो ।

Shiva Prasad Dangal(1).jpg

पहिलो टार्गेट पशुपतिमा दर्शन गर्न आउने टुरिष्टहरु हुनुहुन्छ भने दास्रो चाँही त्रिभुवन एअरपोर्टका ट्रान्जिट प्यासेन्जरहरु र एअरपोर्टबाट बाहिर जाने मानिसहरु हाम्रो आधारशिला हुनुहुन्छ । तर, हामीले ८० प्रतिशत धार्मिक पर्यटनलाई लक्षित गरेका छौं र सोही अनुसारको सेवा सुविधाहरु उपलब्ध गराएका छौं । 

एकातिर उपत्यका भित्र नयाँ नयाँ पाँच देखि सात तारेसम्मका होटलहरु सञ्चालनमा आइरहेका छन् भने अर्कातिर आर्थिक शिथिलता छाएको छ । यस्तोमा होटल व्यवसायको भविष्य कस्तो देख्नुभएको छ यहाँले ?   

आर्थिक शिथिलताबाट यतिबेला हामी अछुतो छैनौं । अझै पनि मन्दिकै अवस्था छ र होटल व्यवसायी मारमै परेका छन् । हस्पिटालिटि विजनेशमा बाहिरबाट पर्यटक आएपछि नै चल्ने व्यवसाय हो । त्यसैले पर्यटन क्षेत्र नै हाम्रो आधारशिला हो र टुरिस्टहरुको आगमन बिना व्यवसाय फस्टाउन सहज भने छैन । 

यहाँले धार्मिक पर्यटकलाई ध्यानमा राखेका छौं भन्नुभयो, सेवाग्राहीले यहाँ कस्ता सेवा पाउनेछन् ? होटलको आन्तरिक वातावरण कस्तो छ ?

हामीले नाम अनुसारकै काम गर्ने ध्येयले नै जनशक्ति व्यवस्थापन देखि अनुकूल आन्तरिक वातावरण निर्माण गरेका छौं । जनशक्ति राख्दा पनि धार्मिक प्रवृति भएका र झुकाव राख्नेहरुलाई सकेसम्म प्राथमिकता दिएका छौं । १८ वर्षको युवादेखि ६६ वर्षसम्मका अनुभवी कर्मचारीले सेवाप्रवाह गरिरहेका छन् । होटल पूर्ण रुपले सञ्चालनमा आउँदा १५० जनालाई रोजगारी प्रदान गर्ने वातावरण बन्छ । हामी सक्षम भयौं भने भोली सामाजिक क्षेत्रमा पनि आफूले सकेको योगदान गर्ने नै   छौं । हामी समर्पित छौं । 

पशुपतिनाथ विश्वभरका हिन्दुहरुको धार्मिक गन्तव्य मध्येको एक हो । नेपालमा कति संख्यामा त्यस्ता धार्मिक स्थालहरु छन् जसलाई धार्मिक पर्यटन गन्तव्यको हिसाबले विकास गर्न सकिन्छ ? 

यो क्षेत्रमा धार्मिक पर्यटनलाई हामीले सर्किटको रुपमा विकास गर्न सक्छौं । भारतमा अयोध्या सर्किट भनेर सुरु भैराखेको छ । हामीले यसलाई काशी–कन्याकुमारी रामेश्वरम् देखि पशुपतिनाथ हुँदै मुक्तिनाथ, खोटाङको हलेसी महादेव–वाग्लुङको काली मन्दिर सबैलाई जोडेर एउटा सर्किटको रुपमा विकास गरेर लैजान सकिन्छ । तर, यो कुरामा हामी व्यक्तिगत रुपमा वा निजी क्षेत्र मात्र लागेर सम्भव हुँदैन । नीति निर्माताले सहज पूर्वाधार निर्माण गर्न सहयोग गरिदिनु पर्छ । हामीले पर्यटन बोर्ड र पर्यटन मन्त्रालयमा होटल एसोशिएसन लगायतले पहल गरिराखेका छौं । यसका लागि मुख्य गरी सरकार नै अग्रसर हुनुपर्छ । 

नेपाल र भारतबीच हिन्दु धर्ममा आस्था राख्ने जतिपनि धार्मिक गन्तव्यहरु  छन् तिनलाई समेटेर नेटवर्किङ गर्ने सर्कीट बनाउनका लागि नीतिगत व्यवस्था हुनुपर्छ भन्ने आशय हो तपाईंको ? 

पक्कै पनि दुई देशले मिलेर नीतिगत व्यवस्था मिलाउन सक्ने हो भने निकै राम्रो हुन्छ । कन्याकुमारी–रामेश्वरमदेखि लिएर पशुपतिनाथ हुँदै मुक्तिनाथसम्मको शिरलाई जोडेर जाने नीति बनाएदिनुपर्छ । व्यक्तिगत हिसावले हेर्ने हो भने पनि भारतको प्रधानमन्त्री आउँदा पशुपतिनाथ र मुक्तिनाथसम्म पुग्नुहुन्छ । हाम्रै नेताहरु भारत जानुभयो भने पनि त्यहाँका प्रसिद्ध तिर्थस्थलहरुको भ्रमण र दर्शन गर्नुहुन्छ । यो विषयलाई व्यक्तिगत भन्दा पनि दुई राष्ट्रबीच मिलेर काम गर्न हामीले नीतिगत रुपमै व्यवस्था गर्नुपर्ने  देखेका छौं । राष्ट्रिय नीति बन्न आवश्यक छ । 

Shiva Prasad Dangal(2).jpg

व्यवसायीहरुलाई संस्थागत गर्दै नीतिगत व्यवस्था गर्नुपर्ने भन्नुभयो, सरकारले नीति कार्यक्रम ल्याउन तयारी गरिरहेकै छ । यो समय राष्ट्रिय नीतिको लागि लबिङ गर्ने उचित समय होइन ? केही पहल पनि गर्नुभएको छ कि? 

हामीले यसका लागि विगत देखि नै पहल गरिराखेका छौं । हिजो (वैशाख ४ गते) मात्रै पनि नीति निर्मातासँग बसेर हामीले आफ्नो कुरा राखेका छौं । हामी आशावादी छौं कि आगामी बजेटमा सरकारले हाम्रो मागलाई सुुनेर देशको धार्मिक पर्यटनलाई बढाउने गरी नीति तथा कार्यक्रममा केही ठोस कुराहरु ल्याउनेछ । 

तपाईंहरु अब यही क्षेत्रमा रहेर व्यवसाय सञ्चालन गर्नुहुन्छ, होटलको नामाकरण पनि मन्दिरकै नामबाट गर्नुभएको छ । पुशपति क्षेत्रको विकासका लागि पशुपति क्षेत्र विकास कोषको गरेको राम्रो काम, गर्न नसकेको काम वा गर्नैपर्ने कामको बारेमा केही चासो लिनुभएको छ ? 

पाशुपत क्षेत्रमा पहिले भन्दा धेरै सुधार भएर आएको छ । तर, पशुपतिमा बाहिरबाट दर्शन गर्न आउने तिर्थालुहरु सबै होटलमै बस्न सक्ने हुनुहुन्न । उहाँहरुले सरल र सहज रुपमा सेवा लिन पाउने गरी विकास कोषले धर्मशाला बनाइदिएर सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता देख्छु म । होटलमा बस्न नसक्ने भक्तजनलाई सुविधा हुनेगरी स्थान गर्ने ठाउँ निर्माणको आवश्यकता देखिन्छ । पाशुपत क्षेत्रमा आउने तिर्थालु बसुन् भन्ने हेतुले भारतले बनाइदिएको धर्मशालालाई पशुपति विकास कोषले होटल बनाएर भाडामा लगाएको छ । त्यसलाई कम शुल्कमा पनि सबैले बस्न सक्नेगरी धर्मशालाकै रुपमा कोषले सञ्चालन गरिदिए राम्रो हुने थियो । अर्को भनेको हेर्दा सामान्य र सानो जस्तो लाग्ने तर त्यसको नकारात्मक असर ठूलो पर्ने पाशुपत क्षेत्रभित्र बस्ने गरेका असहाय तथा सडक मानवको व्यवस्थापनमा ध्यान दिन आवश्यक छ । उनीहरुलाई बरु कोषले नै कुनै भौतिक संरचनामा राखेर व्यवस्थापन गर्न सके अन्तर्राष्ट्रिय पर्यटकलाई सहज हुने थियो । यस्तै दक्षिण भारतका नागरिकलाई यहाँ बढीभन्दा बढी ल्याउन त्यहाँ कोषले प्रसार प्रचारलाई बढाउन सके राम्रो हुने देखिन्छ ।  

भिडियो: