Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

कक्षा ८ को परीक्षामा ३ विद्यालयको नतिजा शून्य

कैलालीको घोडाघोडी नगरपालिकामा कक्षा ८ को वार्षिक परीक्षामा सहभागी भएका ४७ मध्ये ३ विद्यालयको नतिजा शून्य आएको छ ।

घोडाघोडी नगरपालिकाको शिक्षा शाखाले शुक्रवार सार्वजनिक गरेको नतिजाअनुसार नगर क्षेत्रका ३ सामुदायिक विद्यालयका कुनै पनि विद्यार्थी ९ कक्षा पढ्न योग्य नभएका हुन् ।शिक्षा शाखाका प्रमुख खगेन्द्र बहादुर सिंहले परीक्षामा सहभागी ४७ विद्यालय मध्ये ३ विद्यालयको नतिजा निराशाजनक आएको बताए । उनका अनुसार  ग्रेड वृद्धिको परीक्षा हुन बाँकी रहेकाले शून्य नतिजा आएका विद्यालयले सुधार गर्ने मौका रहेको छ ।

विराट सनातन धर्म सांस्कृतिक विद्यापाठ माध्यमिक विद्यालय घोडाघोडी, गंगरी आधारभूत विद्यालय बगुलिया र राष्ट्रिय माध्यमिक विद्यालय नकफोडुवाको कक्षा ८ को वार्षिक नतिजा शून्य आएको हो ।

सामुदायिक र संस्थागत गरी ४७ वटा विद्यालयका  करिब २ हजार ३९ जना विद्यार्थी परीक्षामा सामेल भएका छन् । उनीहरू मध्ये ६ सय ४९ जनाले मात्र पहिलो चरणमै ९ कक्षामा भर्ना हुन पाउने गरी ग्रेड कटाएका छन् । विगतमा घोडाघोडीलाई प्रभावित बनाएर, ग्रेड दिन लगाएर सत प्रतिशत नतिजा हासिल गर्न अभ्यस्त विद्यालयहरूलाई यो पटक भने झट्का लागेको बताइएको छ ।

यो पटक घोडाघोडीले परीक्षा सञ्चालन, उत्तर पुस्तिका परीक्षण र नतिजा प्रकाशनमा कडाइ गरेपछि सबै विद्यालयहरूको नतिजा झस्काउने गरी खस्किएको छ ।