Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

९२ वर्षकी आमा छोराको निर्वाचन प्रचारमा

सन्तानका लागि जन्मदिने आमा कहिले पनि बूढी हुँदिनन् भन्ने उदाहरण एउटा निर्वाचन प्रचारमा देखिएको छ । जतिसुकै धेरै सन्तान जन्माएकी भए पनि ती आमा सबैलाई बराबरी माया बाँडिरहेकी हुन्छिन् भन्ने विश्वास त बलियोसँग बनेकै छ ।

दक्षिण कोरियाकी एकजना ९२ वर्षकी आमाले आसन्न निर्वाचनमा उम्मेदवार बनेका छोराको प्रचारमा आफैं मैदानमा उत्रिएर सघाईरहेकी छन् । चो कि– जू नाम गरेकी ती वयोवृध्द आमाले देशको दक्षिण क्षेत्रका दम्याङ, ह्याम्प्योङ, येओङग्वाङ र जाङ्सेओङ काउन्टीहरूमा निर्वाचन प्रचारमा सक्रिय भूमिका निर्वाह गरेको देखेर विपक्षी उम्मेदवार र मतदाता समेत चकित परेका छन् । उमेरले आफूभन्दा ३४ वर्ष कान्छा छोरा पनि निर्वाचन प्रचारमा आमाको सक्रियताबाट अवाक भएका छन् । उनका ५८ वर्षीय छोरा किम सेओन राष्ट्रिय सभाको सिटका लागि उम्मेदवार बनेका छन् । कोरियामा यही अप्रिल १० मा आमनिर्वाचन हुँदैछ ।

किमको कार्यालयका अनुसार उनकी आमाले मंगलबार राष्ट्रिय निर्वाचन आयोगमा किमका लागि आधिकारिक प्रचारकको रूपमा नाम पनि दर्ता गराएकी छन् ।चो कोरियाली युद्धको समयमा १९५२ मा येओङग्वाङ काउन्टीमा शिक्षिका थिइन् भने सन् १९९२ मा सेवानिवृत्त नभएसम्म प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई पढाएर आफूलाई व्यस्त राखेकी थिईन् ।

त्यसबेला जिवीकोपार्जन गर्दैगर्दा पनि चोले दुई छोरा र पाँच छोरी हुर्काईन् । ती सातैजना सन्तानले सामाजिक सेवा र सरकारको सार्वजनिक संस्थाको प्रमुख भएर आमालाई कष्टका दिन भुल्न सहयोग गरे ।ती वृध्द आमाले अवकाश जीवनमा पनि सधैं महिला अधिकार र विभिन्न सार्वजनिक सेवाका गतिविधिमा सहभागी भइरहिन् ।

उनको यही सक्रिय सेवाको कदर गर्दै सन् २०२२ मा सियोलमा बसोबास गर्ने येओङग्वाङ मूल निवासीहरूको सङ्घल ग्रेट मदर्स अवार्डले सम्मान गरेको थियो । चोका सात सन्तानमध्ये छैटौं किम यसअघि मुख्य विपक्षी डेमोक्रेटिक पार्टी अफ कोरिया (डिपिके) का सदस्य थिए । डिपिके छोडेपछि उनी जनवरीमा डिपिकेका पूर्व अध्यक्ष र पूर्व प्रधानमन्त्री ली नाक योनको नेतृत्वमा रहेको डिपिके पार्टीमा सामेल भए । ‘मेरी आमा मेरो चुनावी अभियानमा सामेल हुनुभयो, मैले उहाँलाई रोक्न खोज्दा पनि सकिनँ । उहाँले मलाई एक्लै छोड्न नसक्ने बताउनुभयो,’ किमले भने ।