ताइवानमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएपछि जापानले ओकिनावा प्रान्तमा सुनामीको चेतावनी जारी गरेको छ । ताइवानमा भूकम्पबाट केही भवनहरु भत्किएका छन् । तर मानिसहरु कति हताहती भए भन्ने विवरण आउन बाँकी छ ।
सुनामीको छाल तीन मिटर अग्लो हुन सक्ने आशंका गरिएको छ । विगत २५ वर्षमा ताइवानमा यस्तो शक्तिशाली भूकम्प गएको थिएन । जापानले ओकिनावाको तटीय क्षेत्रबाट मानिसहरूलाई बाहिर निक्लिन सल्लाह दिएको छ। सुनामी बिहान ९:३० मा इरियोमोट र इसिगाकी टापुहरूमा पुग्ने र मियाकोजिमा र ओकिनावाको मुख्य टापुमा बिहान १० बजे पुग्न सक्ने जनाइएको छ।

सन् २०११ को मार्चमा तोहोकुमा भूकम्प र त्यसपछि सुनामी आउँदा सुरुमा केही सेन्टिमिटरको छाल मात्रै भए पनि पछि डरलाग्दो सुनामीमा परिणत भएको थियो। मार्च ११, २०११ मा, जापानको उत्तरपूर्वी तटमा ९ म्याग्निच्युडको भूकम्प आएको थियो। जुन जापानमा रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्प मानिन्छ। यसपछि विनाशकारी सुनामी आएको थियो।
जापानमा भूकम्प जानु सामान्य कुरा मानिन्छ । यसलाई संसारको सबैभन्दा शक्तिशाली भूकम्पीय क्षेत्रहरू मध्ये एक मानिन्छ। सामाजिक सन्जालहरुमा सेयर गरिएका फोटो र भिडियोहरुमा बहुतले बिल्डिङहरु भत्किएको र पहाडी इलाकामा पहिरो गएको देखिन्छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले पनि तिनै फोटो र भिडियोहरुलाई प्रयोग गरी प्राथमिकताका साथ सामाचार प्रकाशित गरेका छन् ।

बुधबार बिहान ताइवानको हुआलियन शहरबाट करिब १८ किलोमिटर दक्षिणतर्फ केन्द्रविन्दु भएर ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि भूकम्पका ठूला झड्का महसुस भएका थिए । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार ७.४ म्याग्निच्युडको भूकम्पपछि ६.५ म्याग्निच्युडको अर्को ठूलो धक्का महसुस भएको थियो ।