Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

हिजोका अधिकांश क्रान्तिकारी नयाँ सत्ताको चास्नीमा डुबेः डा. भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिजोका अधिकांश क्रान्तिकारी नयाँ सत्ताको चास्नीमा डुब्दै गर्दा देशको आर्थिक–सामाजिक रूपान्तरणको काम अधूरै रहेको टिप्पणी गरेका छन् ।

आइतबार राति सामाजिक सञ्जाल एक्समा उनले पञ्चायतकालमा गरेको संघर्षको सम्झना गर्दै भट्टराईले २०३३/३४ सालदेखि चर्किएको संघर्षले ४७ सालमा बहुदल पुनःस्थापना भएको बताएका छन् । परिवर्तन अपूरो भयो भनेर आफूहरूले १० वर्ष सशस्त्र विद्रोह गरेको र त्यसको पूरक जनआन्दोलन मधेश विद्रोह लगायतका संघर्षको बलमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको उनको दाबी छ ।

उनले क्रान्तिमा सहभागी भएकाहरू नै सत्ताको चास्नीमा डुबेर रूपान्तरणको काम भुलेको आरोप लगाएका छन् । आफूहरू जस्ता केहीले राजनीतिको पुनःसंरचनाको कुरा गर्दा मूर्ख सावित हुनुपरेको भन्दै उनले दुःख व्यक्त गरेका छन् । ‘हिजोका अधिकांश क्रान्तिकारीहरू नयॉ सत्ताको चास्नीमा क्रमशः डुब्दै गए ! देशको आर्थिक/सामाजिक रूपान्तरणको काम अधूरै रह्यो ! युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भइरहेछन्’, उनले लेखेका छन्, ‘बाबुरामहरू जस्ता केही ‘मूर्ख’ हरू नयॉ ढंगले राजनीतिको अग्रगामी पुनर्संरचना गरौँ र नयाँ आर्थिक क्रान्ति गरौँ भनेर हारगुहार गरिरहेछन् ! तर त्यो अरण्यरोदन बनिरहेछ !’

उनले गल्ती सच्याउन र इतिहास दोहोरिन नदिन सुझाव दिएका छन् । नयाकक पुस्तालाई थाहा नहुन सक्छ ! तर मलाई झलझली सम्झना छ– देशको अहिलेको राजनीतिक अवस्था करीब करीब २०३३/०३४ सालको निरंकुश पन्चायती कालरात्री जस्तो छ ! मण्डलेतन्त्रको बिगबिगी थियो । जनतामा चरम निराशा थियो । प्रतिबन्धित पार्टीहरू टुटफुटबाट गुज्रिरहेका थिए । बिपी भित्र बाहिर सबैतिरबाट चेपिएर ।’