अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कोशी प्रादेशिक अस्पतालको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा मेडिकल व्यवसायी विशाल पण्डितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहतासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोही घटनामा अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रा.लि.विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले दुई करोड ८९ लाख ६६ हजार ५० रुपैयाँ अनियमितता गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा हाई डिपेन्डेन्सी युनिट (एचडीयू) खरिद मूल्यांकन समितिका सदस्य तथा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इन्जिनियर कुशल दाहाल, धनकुटा स्वास्थ्य निर्देशनालयका लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेश कुमार श्रेष्ठ, हस्पिटेक इन्टरप्राइजेज प्रा.लि.का सञ्चालक विशाल पण्डित र हस्पिटेक इन्टरप्राइजेज प्रा.लि.का बजार व्यवस्थापक मनोजकुमार आचार्य रहेका छन् ।
अख्तियारले मेडिकल उपकरण खरिदमा कराडौं अनियमितता गरेको आरोपमा व्यापारी पण्डितसहित संलग्न सात जना कर्मचारीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । कोशी प्रादेशिक अस्पतालका लागि उपकरण खरिद गर्ने क्रममा कम कबोल गर्नेलाई ठेक्का नदिई बढी कबोल गर्ने पण्डितको कम्पनीलाई खरिदको जिम्मा दिइएको अख्तियारले जनाएको छ ।