Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

शाखा अधिकृतको तीन करोड २१ लाख अवैध सम्पत्ति, अख्तियारले चलायो भ्रष्टाचार मुद्दा

काठमाडौँ उपत्यका विकास प्राधिकरणका शाखा अधिकृत यामकुमार कार्कीले तीन करोड २१ लाख ३२ हजार ९५६ रुपैंयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । करार सेवामा कार्यरत अधिकृत कार्कीले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै सोही रकम बराबरको बिगो कायम गरी विशेष अदालतमा बिहीबार मुद्दा दर्ता गरेको हो ।

काठमाडौँ उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय, काठमाडौँ अन्तर्गत बागमतीनगर जग्गा एकीकरण आयोजनाको कार्यालय, बौद्ध तथा अतिरिक्त जिम्मेवारीको रूपमा कागेश्वरी मनोहरा, गोकर्णेश्वर तथा शङ्खरापुर नगरपालिकाद्वारा सञ्चालित पूर्वी काठमाडौँ नयाँ सहरी विकास आयोजना, माकलबारीमा खटिई कार्कीले काम गर्दै आएका थिए ।

कार्कीले पदीय मर्यादाविपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमाथि अनुसन्धान हुँदा घटना बाहिरिएको थियो । अख्तियारले उनी सेवा प्रवेशको मिति २०५८ साउन १६ गतेदेखि २०७९ चैत ३० गतेसम्मको अनुसन्धान गरेको थियो ।

आयतर्फ पारिश्रमिक बचत, भत्ता, जग्गा बिक्रीको आय, सापटी फिर्ता पाएको रकम, बैंक तथा वित्तीय संस्थाको मौज्दात, ऋणलगायत कुल ३ करोड ७७ लाख १३ हजार ६४६ रुपैयाँ देखिएको थियो । व्ययतर्फ घर तथा जग्गा खरिद, सन्तती अध्ययन खर्च, गरगहना, शेयरलगायत गरी ६ करोड ९८ लाख ४६ हजार ६०३ रुपैयाँ खर्च तथा लगानी देखिएको थियो ।