दुर्गा प्रसाईंको झापास्थित बी एण्डसी मेडिकल कलेजसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले १२ चैतमा फैसला सुनाउने भएको छ ।
मंगलबार न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति १२ चैतलाई तोकेको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए ।
झापाको प्रस्तावित बीएण्ड सी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्यापन गराउन आशयपत्र दिएर पनि सम्बन्धन नदिएको भन्दै प्रसाईले २०७७ मा काठमाडौँ विश्वविद्यालय र चिकित्सा शिक्षा आयोग विरुद्ध रिट दायर गरेका थिए। सोही साल असोजमा पनि अर्को रिट दायर गरेका थिए।
रिट निवेदनको प्रतिवादमा शशीबिक्रम कार्कीले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भनी सर्वोच्च अदालतमा अर्को निवेदन पनि दिएका थिए । सर्वोच्च अदालतले यी तीनवटै मुद्दालाई सँगै राखेर सुनुवाइ गरेको छ ।