गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशकको जिम्मेवारी कोषहरी निरौलालाई दिएको छ । गृह मन्त्रालयले मंगलबार सहसचिव रहेका निरौलालाई अध्यागमन विभागमा महानिर्देशक पदमा सरुवा गरेको हो ।
६ फागुनमा तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङरिुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेपछि विभाग महानिर्देशकविहीन थियो । गृहका ‘काबिल क्याडर’ मानिने निरौलाले यसअघि इलाम, पाँचथर, स्याङजा, नुवाकोट, गुल्मी, धनुषा र मोरङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालीसकेका छन् ।
यसैगरी निरौलाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा प्रमुख, गृहमन्त्रालयको कर्मचारी स्थानीय प्रशासन महाशाखा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी प्रशासन महाशाखाको जिम्मेवारी सम्हालीसकेका छन् । गृह प्रशासनमा लामो अनुभव भएका निरौलाले यसअघिका जिम्मेवारी उत्कृष्ट र निर्विवाद रुपमा सम्हालेर इमान्दार, निर्भिक र काबिल प्रशासकको परिचय बनाएका छन् ।
यसैगरी त्रिभुवन विमास्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाललाई राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएर उनको ठाउँमा नरबहादुर थापालाई पठाइएको छ ।
त्यसैगरी गृह मन्त्रालयले ११ वटा जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारी ९सीडीओ० हरुको सरुवा गरेको छ । संखुवासभामा ध्रुबहादुर खड्का, अर्घाखँचीमा सूर्यबहादुर क्षेत्री, लमजुङमा बुद्धबहादुर गुरुङ, ओखलढुंगामा नारायण ढकाल, रोल्पामा खिमबहादुर रायमाझी र जाजरकोटमा ऋषिराज आचार्यलाई प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ ।
रामराज कडरियालाई धनुषा, शिवकुमार कार्कीलाई खोटाङ, यज्ञराज जोशीलाई दार्चुला, मिना अर्याललाई तेह्रथुम र रवीन्द्र आचार्यलाई ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीको जिम्मा दिइएको छ । यस्तै कमलराज ढकाल सहसचिवका रूपमा गृह मन्त्रालयमा सरूवा भएका छन् ।