Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

दूध किसानको बक्यौता भुक्तान गर्न ३० करोड निकासा गर्दै अर्थ मन्त्रालय

दूध किसानको बक्यौता भुक्तानीका लागि ३० करोड निकासा गर्ने अर्थ मन्त्रालयले तयारी थालेको छ । अर्थमन्त्री वर्षमान पुनले आज शुक्रबार सचिव डा. रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको बक्यौता भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।

त्यसअघि मन्त्री पुनले कृषिमन्त्री ज्वालाकुमारी साह, कृषि सचिव डा. गोविन्द्रप्रसाद शर्मा र पशुपंक्षी विकास सचिव डा. रेवतीरमण पौडेलसँग छलफल गरेका थिए । भुक्तानी नपाएको भन्दै लामो समयदेखि दूग्ध किसान आन्दोलित छन् । किसानलाई भुक्तानीका लागि दूग्ध विकास संस्थान (डिडीसी) ले अर्थ मन्त्रालयसँग रकम माग गरेको थियो । तर, अर्थले रकम अभावको कारण देखाउँदै भुक्तानी दिएको थिएन ।


मन्त्रालयको नेतृत्व सम्हालेको केही दिनमै अर्थमन्त्री पुनले किसानलाई भुक्तानी दिने प्रक्रिया अघि बढाएका हुन् । देशभरका हजारौं किसान भुक्तानी नपाएर तड्पिएको अवस्था रहेको अर्थमन्त्री पुनले बताएका छन् । राज्य जनताको अभिभावक भएकाले किसानका पीडा हेरेर बस्न नसक्ने बताउँदै अर्थमन्त्री पुनले भने, ‘विगतमा जे कारणले रोकिएको भए पनि आजै वा आइतबारसम्म किसानको बक्यौता भुक्तानी हुन्छ ।’

पुनले राज्यले बहानाबाजी गरेर किसान, निर्माण व्यवसायीलगायतको भुक्तानी रोक्न नमिल्ने बताए । जनतालाई डेलीभरीको महसुस गराउनकै लागि आफ्नो कुर्सी सुरक्षित हुँदाहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता समीकरण बदलेको उल्लेख गर्दै पुनले केही गरौ’ भन्ने प्रधानमन्त्रीको हुटहुटीलाई बुझेर आफूले अगाडि बढाएको बताए । उनका अनुसार कृषि मन्त्रालयको चालु आर्थिक वर्षको बजेटबाट समर्पण गराएर किसानको भुक्तानी दिइन लागिएको हो । चालु आर्थिक वर्षमा ५१ अर्ब बजेट रहेको कृषि मन्त्रालयले हालसम्म कूल बजेटको ५४ प्रतिशत मात्र खर्च गरेको छ । मन्त्री पुनले बजेट समर्पणका लागि शुक्रबारै पत्राचार गर्न कृषिमन्त्री र सचिवहरूलाई भनेका छन् ।