Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

उपचारका क्रममा बालकको मृत्युः अस्पताल घेराउ, सडक अवरुद्ध

अस्पतालमा उपचारका क्रममाएक बालकको ज्यान गएपछि अस्पताल घेराउ गरिएको छ । उपचारकै क्रममा बालक ज्यान गएपछि हिजोदेखि आफन्तले बिरोध प्रदर्शन गरिरहेका छन् ।

आज दिउँसो घोराही–लमही सडक समेत अवरूद्ध पारिएको छ । राजपुर गाउँपालिका–१ पटौली नाकाका ९ वर्षीय बालक सुरेश कुँवरको घोराहीस्थित बुद्ध इन्टरनेशनल हस्पिटलमा उपचारका क्रममा बुधबार मृत्यु भएको थियो ।

त्यसपछि अस्पताल अगाडि र ट्राफिक चोकमा मृतकका आफन्तहरू बसेर यातायात अवरूद्ध पारेका छन् । साथै अस्पतालको सेवा समेत रोकिएको छ । घाँटीमा समस्या भएपछि अस्पताल ल्याइएका बालकको डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल घेराउ गरिरहेका छन् ।

 अहिले मृतकका आफन्त, अस्पताल प्रशासन र सरोकारवालाबीच जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिएका छन् ।