Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

ओलीको नाम लेखिएको शिलालेखबारे पूर्वाधारमन्त्री लम्सालले के भने ?

भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यासका क्रममा स्थापित शिलालेख हराएकोबारे स्पष्टिकरण दिएका छन् । सोमबार काठमाडौंको नागढुंगामा सुरुङमार्गको उद्घाटन गर्दै उनले यस्तो स्पष्टिकरण दिएका हुन् ।

‘नागढुङ्गामा रहेको शिलालेख गायब पारिएको होइन। हामी फेरि पुनर्स्थापना गर्छौँ, हामीले भूतलाई एकदमै सम्मानका साथ इज्जत पनि गर्छौँ,’ उनले भने । शिल्यान्यासका क्रममा राखिएको शिलालेख सुरुङमार्गको पूर्वाधार बनाउने क्रममा झिकेर सडक विभागमा राखिएको रहेछ। त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ।’

उनले नागढुंगाबाट झिकेर बबरमहलस्थित सडक विभागको कार्यालयमा राखिएको शिलालेख गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा हराएको पनि बताए ।

‘यहाँ थप पूर्वाधार बनाउँदा झिकेको शिलालेख सडक विभागमा आगजनी हुँदा हराएको रहेछ । त्यो बेलामा सुरू गरेको र अहिले उद्घाटन गरेको शिलालेख दुवैलाई हामी कायम गर्छौँ,' उनले भने ।