Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनुहुँदैनः हरिवंश आचार्य

गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारको तर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार विजेता बनेका छन् । आदर्श पुरुष र सरल छवि निर्माण गरेका अभिनेता आचार्य पर्दामा पनि त्यस्तै भूमिका निर्वाह गर्छन् ।

तर, यसपटक उनले आगामी चलचित्र ‘महाजात्रा’ मा राजनीतिज्ञको भूमिका निर्वाह गरेका छन् । सेवा भावभन्दा अनैतिक कार्यलाई प्रश्रय दिने नेताको भूमिका निर्वाह गरेका अभिनेता आचार्यले सकारात्मक र नकारात्मक दुवै भूमिकाले अभिनयलाई पूर्ण बनाउने बताए ।

चलचित्र ‘महाजात्रा’ को प्रचारप्रसारमा सहभागी भएका आचार्यले षट्कोण आर्ट्समा सञ्चारकर्मीसँग कुराकानी गर्दै अभिनेताका रुपमा आफू एकै किसिमको भूमिकामा समेटिन नचाहेको जानकारी दिए । “म र मैले अभिनय गर्ने पात्र फरक हुन् । सोही कारण मेरो निजी जीवन पात्रमा नआओस् भन्ने चाहन्छु । त्यहीअनुरूप मैले अभिनय गर्ने गरेको छु । यसपटक मैले नेताको भूमिकामार्फत् भइरहेको विकृति र त्यसले पारिरहेको असरलाई प्रस्तुत गरेको छु । यसले नकारात्मक पक्षबारे आम दर्शकलाई प्रष्ट्याउँछ”, अभिनेता आचार्यले भने ।

उनले आफूसँग मह सञ्चारमा डेढ दशक अगाडि काम गरेका कारण पनि निर्देशक प्रदीप भट्टराईको कामप्रति विश्वास रहेको बताए । उनले भने, “निर्देशक भट्टराईले समाजलाई सन्देश र दर्शकलाई मनोरञ्जन दिने कथा तयार गर्छन् । सोही कारण पनि म उहाँ प्रति विश्वस्त भएर कथा नहुँदा पनि अभिनय गर्न सक्छु । यसपटक पनि मलाई पूर्ण कथाभन्दा पनि चरित्रको बारेमा थाहा थियो । तर, चलचित्र उनले लेखिएको भन्दा राम्रो बनाएका छन् ।”

अभिनेता आचार्यले ‘महाजात्रा’ कलात्मक र व्यावसायिक दुवै पक्षलाई ध्यान दिएर तयार गरिएको बताए । किनकि उनी सफल हुन कलाको प्रशंसासँगै व्यावसायिक सफलता पनि अनिवार्य हुने विचार राख्छन् ।