Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि आज उमेदवारी दर्ता हुँदै

​राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि आज उमेदवारी दर्ता हुँदैछ। आज बिहान ११ बजे देखि १ दिउँसो बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको संघीय संसद् सचिवालयले जनाएको छ।

साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित गरिनेछ। मंगलबार बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाउने कार्यतालिका छ। राष्ट्रिय सभा अध्यक्षका लागि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले उम्मेदवार तय गरेका छन्।

माओवादीका तर्फबाट राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल उम्मेदवार बन्ने छन्। यसैगरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय भएको छ।

राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभा सदस्य नारायण दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालका भाइसमेत हुन्।  २०७८ मा दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका थिए। सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन्।

माओवादी, एमाले, एकीकृत समाजवादी र जसपा लगायतको सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने सहमति भएको थियो। उपाध्यक्षमा नेकपा एमालेको उम्मेदवार बन्ने सहमति छ।

कांग्रेसले युवराज शर्मालाई अघि सार्ने भएको छ।  बाँकेका शर्मा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्। उनी ०४५ सालमै पार्टीको बाँके सभापति भएर काम गरेका थिए। २०२८ सालमा देउवा नेविसंघको सभापति हुँदा शर्मा उपाध्यक्ष थिए।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएसँगै उक्त पद रिक्त छ।