Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

जनयुद्धसम्बन्धी बिवादमा प्रधानमन्त्रीबिरूद्धको सुनवाई हुँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाईका लागि पेशी तोकिएको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले प्रचण्डविरुद्ध दायर गरेको रिटमा आइतबार पेशी तोकिएको हो ।

न्यायाधीशद्धय कुमार रेग्मी र विनोद शर्माकोमा पेशी तोकिएको छ । यो दोस्रो सुनुवाई हो । यसअघि न्यायाधीश न्यायाधीश ईश्वर खतिवडाको इजलासले अन्तरिम आदेशको छलफलमा बोलाएको थियो । २०७९ फागुन २६ गते अग्राधिकार र कारण देखाउ आदेश जारी गरेको थियो ।

अधिवक्ता आरण र बुढाथोकीले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । २०७६ माघ १ गते माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा भएका मानिसहरूको हत्यामध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएका थिए । उक्त विषयमा प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै उनीहरूले रिट दर्ता गराएका थिए ।

शुरुमा उक्त रिट दर्ता नगर्दै सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । दरपिठ विरुद्ध उनीहरुले इजलासमा निवेदन दिएका थिए । उक्त निवेदनमा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको इजलासले प्रचण्डविरूद्ध उनीहरूले दिएका रिट दर्ता गर्न आदेश गरेको थियो । सर्वोच्च प्रशासनले उक्त रिट दरपिठ गरेपछि त्यसविरूद्ध निवेदन दिएका थिए । सोही निवेदनमा उक्त इजलासले सुनुवाई गर्दै दरपिठ गर्ने निर्णय बदर गरी रिट दर्ता गर्न भनेको थियो । त्यसपछि आरण र बुढाथोकीको रिट दर्ता भएर सुनुवाईमा गएको थियो ।