‘धोका खाने जति कुनै दिन एक ठाउँमा आए सरकारको व्यवस्था आफै हुन्छ’
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई अघिल्लो गृहमन्त्रीले सहकारी ठगी छानबिन गर्न दिएको निर्देशन कार्यान्वयन हुन्छ कि हुँदैन भन्दै प्रश्न गरेका छन् ।
नेपाल शिक्षक संघको कार्यक्रममा बोल्दै उनले अभियोग लागिसकेपछि कोही मान्छे मन्त्रिपरिषदमा बस्न पाइँदैन भन्नेहरू नै सरकारमा गएको भन्दै आलोचना गरेका छन् । उनले भने, ‘प्रधानमन्त्रीको कदमले गलत प्रवृत्तिलाई प्रश्रय दिनु भएको छ । यो भन्दा अघि संसद्मा बालकुमारी घटनादेखि अख्तियारमा बयान दिएकाहरूले छाड्नु पर्छ भनेर भन्नु हुन्थ्यो । उहाँहरूको भनाइ अभियोग लागिसकेपछि कोही मान्छे मन्त्रिपरिषद्मा बस्न पाइँदैन भन्ने थियो । तर अहिले मन्त्रीपरिषद्मा केही अभियोग र आरोप लागेका, मुद्दा परेकाहरू हुनुहुन्छ कि हुनुहुन्न । अघिल्लो गृहमन्त्रीले सहकारीमा ठगी भयो, कुन– कुन सहकारीमा अर्बौ ठगी भयो भनेर छानबिन गर्न अघिल्लो गृहमन्त्रीले निर्देशन दिनु भयो । त्यो निर्देशन कार्यान्वयन गराउने अवस्थामा वर्तमान गृहमन्त्री हुनुहुन्छ कि हुनुहुन्न ।
‘धोका खाने जति कुनै दिन एक ठाउँमा आए सरकारको व्यवस्था आफै हुन्छ’
महामन्त्री शर्माले कांग्रेस नयाँ सरकार बनाउने धन्दामा नलाग्ने बताएका छन् । उनले कांग्रेस अब घर घरमा पुगेर देउसी खेली नयाँ सरकार बनाउने धन्दामा नलाग्ने बताएका हुन् । ‘कांग्रेस अहिलेको सरकार भत्काउन धार्नी पुर्याउनेतर्फ लाग्दैन । कांग्रेस अब जनताका मुद्दाहरु लिएर खरो रुपमा उत्रिनेछ । धोका खाने जति कुनै दिन एक ठाउँमा आए बाँकी व्यवस्था आफै हुन्छ’, उनले भने ।
कांग्रेस सरकार भत्काउने चलखेलमा नलाग्ने स्पष्ट पारे कांग्रेसबाट सरकारमा गएका केही मन्त्रीहरुको भूमिका मन्त्रीको रुपमा चित्त बुझ्दो नभएको कुरा कांग्रेस आफैले भनेको भए पनि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री फेर्नुको सटा हतार गरेर नयाँ गठबन्धन बनाएको उनको आरोप थियो । महामन्त्री शर्माले चालु अधिवेशनमार्फत विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने बताए ।