Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

किसानलाई दूधको पैसा भुक्तानी गर्न नसकेको दुग्ध विकास संस्थान पाँच करोड नाफामा

दूध उत्पादन गर्ने किसानलाई लामो समयदेखि भुक्तानी नदिएको दुग्ध विकास संस्थान ९डीडीसी० ले भने चालु आर्थिक वर्षको पहिलो ६ महिनामा पाँच करोड रुपैयाँ भन्दा धेरै नाफा कमाएको छ ।

डीडीसीको प्रतिवेदन अनुसार साउनदेखि पुस मसान्तसम्ममा पाँच करोड १५ लाख पाँच हजार एक सय ९४ रुपैयाँ नाफा भएको हो । डीडीसीे ६ वर्षदेखि घाटामा रहेको थियो । डीडीसीले साउनदेखि पुससम्ममा एक अर्ब ९४ करोड ४९ लाख आम्दानी र एक अर्ब ८८ करोड ७७ लाख रुपियाँ खर्च गरेको छ ।

डीडीसीका महाप्रबन्धक सञ्जीव झाले बितेको छ महिनाको हिसाब निकाल्दा पाँच करोड नाफामा रहेको तर त्यो नगदमा नआएको जानकारी दिएका छन् । उउत्पादन गरिएको दुग्धजन्य पदार्थ मौज्दात रहेका कारण नगद नआएको तर चैतदेखि सुक्खा सिजन शुरु हुने भएकाले त्यसपछि मौज्दात बिक्री भएर नाफा नगदमा प्राप्त हुने बताए ।

झाका अनुसार अहिले डीडीसीसँग एक अर्ब रुपैयाँ बराबरको दुग्धजन्य पदार्थ मौज्दात छ । किसानलाई पनि झण्डै एक अर्ब रुपैयाँ नै भुक्तानी गर्न बाँकी छ । मौज्दात बिक्री भएपछि किसानलाई भुक्तानी दिन समस्या नहुने उनले बताए । किसानलाई भुक्तानी गर्न सरकारले ३० करोड रुपियाँ सहुलियत ऋण उपलब्ध गराएको छ ।