Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

समाजकै लागि नमुना बने ज्वाइँ, कलेजो दिएपछि ६५ वर्षीया सासुले पाइन् पुनर्जीवन

दुवै जनाको स्वास्थ्य अवस्था सामान्य

कलेजोको गम्भीर रोगबाट ग्रसित सासुलाई ज्वाइँले आफ्नो कलेजो दान गरेका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा भएको २२औं कलेजो प्रत्यारोपणमा ६५ वर्षीया सासु लक्ष्मीदेवी श्रेष्ठलाई उनका ४५ वर्षीय ज्वाइँ श्रीकृष्ण मानन्धरले आफ्नो कलेजो दान गरेका हुन् ।

केन्द्रका कार्यकारी निर्देशक एवं कलेजो प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा सो प्रत्यारोपण भएको थियो । डा. श्रेष्ठका अनुसार अङ्ग लिने सासु र अङ्ग दिने ज्वाइँ दुवैकै स्वास्थ्य अवस्था सामान्य छ । ज्वाइँले सासुलाई कलेजो दान गर्नु समाजकै लागि नमुना भएको डा. श्रेष्ठको भनाइ छ ।


केन्द्रले हालसम्म २२ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको उनले बताए । केन्द्रले नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गरेको थियो । भक्तपुरका बलराम नागालाई उनकी ४२ वर्षीया दिदीले कलेजो दिई नेपालमा पहिलो कलेजो प्रत्यारोपणको सुरुवात भएको थियो । केन्द्रले यस अवधिमा एक हजार २१२ जनाको मिर्गौला र २२ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ ।

केन्द्रमा १५ देखि २० लाख रुपियाँमा कलेजो प्रत्यारोपण हुने गरेको डा.श्रेष्ठले जानकारी दिए । केन्द्रमा भएका कुल १२१२ मिर्गौला प्रत्यारोपणमा अङ्गदाता महिला ८७३ (७२ प्रतिशत) हुँदा पुरुष ३३९ (२८ प्रतिशत)र ग्रहणकर्तामा महिला २४६ (२१ प्रतिशत) हुँदा पुरुष ९५६ (७९ प्रतिशत) छन् ।