Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

काभ्रेको सुन्तलामा ‘सूक्ष्म खाद्यत्व’ को अभाव, उपचार थालियो

पछिल्ला वर्षसम्म सुन्तलाको लागि प्रख्यात काभ्रेपलाञ्चोकको सुन्तला बगैँचामा ‘सूक्ष्म खाद्यत्व’ को अभाव देखिएको पाइएको छ । जिल्लास्थित सुन्तला पकेट क्षेत्रका बगैँचाको स्थलगत अनुगमनका क्रममा सूक्ष्म खाद्यात्वको अभाव देखिएकाले पुर्नजागृत गराउन आवश्यक देखिएको कृषि विकास कार्यालय धुलिखेलले जनाएको छ ।

सुन्तला पकेट क्षेत्रका बगैँचाको स्थलगत अनुगमनपछि समस्याग्रस्त सुन्तला बोटलाई पुर्नजागृत गराउन पहिलो चरणमा पनौती नगरपालिका–१० सत्यालडाँडामा रहेको पुरानो बगैँचाका सुन्तलाको बोटमा उपचार सुरु गरिएको छ । पुराना बोट भए पनि समस्याग्रस्त सुन्तला बगैँचाका सुन्तलाको बोट काटेर नष्ट गर्नुको सट्टा सामान्य काँटछाँट गर्ने, ऐजेरु हटाउने र चुन तथा निलोतुथोको प्रयोग गरी पुराना बोटलाई उत्पादनशील अवस्थामा फर्काउन पुराना सुन्तला बोटको उपचार थालिएको कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिए ।

दवाडीका अनुसार कार्यालयले सुन्तला बोटको उपचारका लागि बाली संरक्षण प्रयोगशाला हरिहर भवनको सहयोगमा सत्यालडाँडामा रहेका सुन्तला किसानलाई निलोतुथो, कपरअक्सी क्लोराइड, हाँगा काट्ने आरी, सिकेचर, निलोतुथो, सुन्तला टिप्ने भर्‍याङ तथा १७ थान स्प्रेयर पम्प ८० प्रतिशत अनुदानमा वितरण समेत गरिएको छ । ‘अन्य समस्याग्रस्त सुन्तला बगौँचामा क्रमश उपचार गर्दै किसानलाई सहयोग गर्दै जाने योजना बनाउँदै छौँ’, दवाडीले भने ।

सूक्ष्म खाद्यत्वसँगै जिल्लाका सुन्तला पकेट क्षेत्र तीन नगर धुलिखेल, पनौती र नमोबुद्ध तथा बेथानचोक गाउँपालिकाको बगैँचामा नाइट्रोजन, फस्फोरस र पोटासको अभाव देखिएको जनाइएको छ । अभाव हटाउन सामान्य काँटछाँट गर्ने, ऐजेरु हटाउने, चुन र निलोतुथो, प्रोटिन बेटको प्रयोग गरी पुराना बोटलाई उत्पादनशील अवस्थामा फर्काउँदा सुन्तलामा सूक्ष्म खाद्यात्व न्यूनीकरण हुँदै जाने दवाडीले बताए ।

गत वर्ष पनौती नपा–९ स्थित पुरानो सुन्तला बगैँचा पुर्नजागृत गराउन काँटछाँट, प्रोटिन बेटको प्रयोग, निलोतुथो, चुनको प्रयोग र सूक्ष्म खाद्यात्वको प्रयोग गरी सुन्तला बोटको उपचार गर्दा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ । दवाडीले भने, ‘जिल्लाका सुन्तला किसानलाई सूक्ष्म खाद्यात्वको प्रयोग गर्न सुझाव दिँदै आइएको छ, अब स्थानीय तहसँगको सहकार्यमा प्राविधिकसहित उपचारमा जानेछौँ ।’ उनका अनुसार जिल्लाका सुन्तलाका बोट समस्याग्रस्त अवस्थामा रहे पनि कार्यालयमा चालु आर्थिक वर्षमा सुन्तला प्रवर्द्धनका लागि कुनै कार्यक्रम र बजेट छैन ।

रोगकै कारण सुन्तला उत्पादनमा कमी हुने भएपछि कार्यालयले प्राविधिक सल्लाह तथा आवश्यक औषधि वितरण गर्दै आइएको कृषि प्रसार अधिकृत विवेकानन्द महतले बताए । उनका अनुसार गत बर्षसम्म जिल्लाभर करिव २० प्रतिशत सुन्तलामा औँसा किराको प्रकोप देखिएको छ । यसका कारण बोटमा रहेका सुन्तलामध्ये दश प्रतिशत कुहिएर झर्ने गर्दछ ।

गत वर्ष छ हजार पाँच सय १४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो भने यस वर्ष करिव सात हजार मेट्रिक टन सुन्तला उत्पादन भएको जनाइएको छ । जिल्लाको शङ्खु, शारदाबतासे, पनौती, बल्थली, चलाल गणेस्थान, कुशादेवी, रयाले, महेन्द्रज्योति, काभ्रे, पात्लेखेत, फूलबारी, श्यामपाटी, साँगा, जनागाललगायतका स्थानलाई सुन्तला पकेट क्षेत्र हुन् । कार्यालयका अनुसार जिल्लामा सुन्तला खेती हुँदै आएको हाल एक हजार दुई सय ६४ हेक्टर (२५ हजार रोपनी) जमिनमा वार्षिक करिब सात हजार मेट्रिक टन सुन्तला उत्पादन हुँदै आएको जनाएको छ । केही वर्षअघिसम्म काभ्रेपलाञ्चोकमा वार्षिक रु ४० करोडभन्दा बढी सुन्तला बिक्रीबाट भित्रने गर्दथ्यो ।