Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

आयोगद्वारा रेशम चौधरीलाई अध्यक्षको मान्यता दिन अस्वीकार, रञ्जिता नेतृत्वकै समिति सदर

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई वैधानिकता दिन अस्वीकार गरेको छ । आयोगले रेशम पार्टीको सदस्य नै बन्न अयोग्य रहेको भन्दै रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वकै समितिलाई सदर गरेको हो ।

टीकापुर घटनामा जन्मकैद सजाय तोकिएर आममाफी पाएका चौधरीले केन्द्रीय समिति अध्यावधिकका लागि गत माघ २९ गते आयोगमा निवेदन दिएका थिए । आयोगले उनलाई सदस्य बन्न योग्य हो कि होइन भनि प्रश्न उठाएको थियो । गएको पुस २७ गते कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनबाट चौधरी अध्यक्षमा निर्वाचित भएका थिए । त्यसअघि पार्टी अध्यक्ष रेशम पत्नी रञ्जिता श्रेष्ठ थिइन् ।

r-2.webp


आयोगले अध्यावधिक गर्न नमिलेको जानकारी दललाई दिने निर्णय गरेको छ । ‘‘विधानको संशोधनको अभिलेख अद्यावधिक गर्न मिलेन । राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ नियमको २५ को उपनियम (६) बमोजिम नागरिक उन्मुक्ति पार्टी नामक राजनीतिक दलको साविकको विवरण नै कायम रहेकाले ऐ। नियमावलीको नियम २५ को उपनियम (६) बमोजिम सोको जानकारी सम्बन्धित दललाई गराउने,” आयोगको निर्णयमा भनिएको छ ।

अयोग्य व्यक्तिलाई योग्य व्यक्ति सरह मानी अधिकार प्रत्यायोजन गरी महाधिवेशन गरे गराएको भनी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को ५१ बमोजिम आयोग समक्ष विवरणसहित जानकारी गराएको भन्दै उन्मुक्तिलाई प्रतिकूल कार्य नगर्न आयोगले सचेत गराउने निर्णय गरेको छ ।

‘अयोग्य व्यक्तिलाई योग्य व्यक्ति सरह मानी अधिकार प्रत्यायोजन गरी महाधिवेशन गरे गराएको भनी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को ५१ बमोजिम आयोगसमक्ष विवरणसहित जानकारी गराएको देखिँदा नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रंजिता श्रेष्ठलगायत सो पार्टीको केन्द्रीय समितिलाई अब उप्रान्त दलको विधान र प्रचलित कानुन प्रतिकूल कार्य नगर्नु नगराउनु भनी सचेत गराउने’, आयोगको निर्णयमा भनिएको छ ।