Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

नयाँ गठबन्धनलाई राजेन्द्र लिङदेनको चेतावनी - पर्सि नै राप्रपालाई खोज्नुपर्ने दिन नआओस्

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सत्ता केन्द्रित यो चलखेलमा सहभागी नहुने निर्णय गरिसकेको पार्टीलाई सत्तामा जान खोजेर पनि सकेन भन्ने भ्रम नछर्न आग्रह गरेका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले यस्तो आग्रह गरेका हुन्। उनले राप्रपा पनि सरकारमा सहभागी हुन इच्छुक नरहेको पनि बताए। उनले राप्रपालाई सत्तामा नलिने भन्नेकुरा कतिपय पार्टीहरुले गर्वका साथ भनिरहेको कुरालाई आफ्नो पार्टीले नोटिसमा राखेको बताए। उनले केही दिनपछि नै राप्रपा चाहियो भन्ने दिन आउने अवस्था नबनाउन चेतावनी दिए।

उनले भने, ‘कतिपयलाई भ्रम भयो, राप्रपा पनि सरकारमा सहभागी हुन इच्छुक थियो, भन्ने भ्रम लगाइयो मात्रै होइन, कतिपय साथीहरुले बढो उत्साहका साथ हामीले राप्रपालाई नलिने भनेका छौँ भन्नुभयो। त्यसलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले नोटिसमा राखेको छ। हामी यो सत्ता केन्द्रित चलखेलमा सामेल छैनौँ। राप्रपाले सहभागी हुन खोजेर पनि नसकेको हो भन्नेकुराको भ्रम नरहोस्। त्यसलाई नोटिसमा राखेका छौँ। तपाईको यो गठबन्धनले पर्सि नै राप्रपालाई खोज्नुपर्ने दिन नआओस्।'

उनले समग्र देशको अवस्था ठिक नरहेको बताए। उनले देशको यो अवस्था हुनुमा अहिलेको व्यवस्था दोषी रहेको बताए।