नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनमतको अपमान गरेको लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै लेखकले प्रधानमन्त्रीले कांग्रेसप्रति मात्रै नभई जनता र संविधानमाथि पनि कुठाराघात गरेको बताएका हुन्।
प्रमुख सचेतक लेखकले भने, ‘अहिले यसरी गठबन्धन भत्काउने भनेको यो जनमतको पनि घोर अपमान हो । जनमतको अपमान गर्दै कपोकल्पित कारण र मुद्दा उचालेर आफ्नो जिम्मेवारी भाग्ने कदमलाई हामीले राजनीतिक बेइमानी भनेका हौं ।’ उनले प्रधानमन्त्रीले एकतर्फी रुपले अविश्वसनीय रुपमा गठबन्धन तोडेको टिप्पणी गरे । व्यक्तिगत रुपमा आफूले प्रचण्डलाई आदर गर्ने भन्दै प्रमुख सचेतक लेखकले तर उनमा राजनीतिक इमान नदेखिएको बताए ।
कांग्रेससँगको गठबन्धन भत्काउने प्रधानमन्त्रीको निर्णयले मुलुकलाई शृंखलावद्ध अस्थिरतातिर जाने खतरा देखिएको नेता लेखकले बताए । आपसी छलफलबाट समाधान हुन सक्ने विषयलाई पनि प्रधानमन्त्री प्रचण्डले अतिरञ्जित किसिमले बढाएर, चढाएर आफ्नो कमजोरी एक दुई जना मन्त्रीको टाउकोमा हाल्ने काम गरेको उनले बताए ।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले नयाँ गठबन्धनमा आबद्ध चार दलका नेताले हस्ताक्षर गरेको आठबुँदे सहमतिपत्रमाथि प्रश्न उठाउँदै उनले यस्तो सोधेका हुन् । “संक्रमणकालीन न्यायको विधेयक कसले रोकेको हो ? नेपाली कांग्रेसले ? अनि, तपाईंले यही कुरा लेखेर हस्ताक्षर गर्नुभयो भने नेपाली कांग्रेसका प्रति न्याय गर्नुभो ? विश्वास गर्नुभो ?,” लेखकले प्रश्न गरे । लेखकले आठबुँदे सहमतिमै उल्लिखित संघीयता कार्यान्वयनसम्बन्धी विषयमा ‘कानुन पनि बनेन, सबै तहका सरकार १४ महिनामा प्रभावकारी भएनन् भने के गर्नुभयो ?’ भनी थप प्रश्न गरे ।
संसद्का दुई अधिवेशनबाट एउटा मात्र विधेयक पारित गरिएको भन्दै उनले ‘अरू गर्न कांग्रेसले रोक्यो ?’ भनी प्रश्न पनि गरे । उनले ‘गर्न नसकेको कामको जिम्मेवारी मन्त्रीले लिने ?’ भन्दै थप प्रश्न गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको सहकार्यमा रहँदा मन्त्रीहरूको कामप्रति असन्तुष्ट भएको र गठबन्धन तोडिएको बताएपछि उनले यस्तो प्रश्न गरेका हुन् । गठबन्धन बन्ने र भत्कने विषयलाई ठूलो रूपमा लिन नहुने उनले बताए ।
भिडियो: