Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

कल्पेश्वर महादेव मन्दिरमा शिवपार्वती रथयात्रा

ललितपुरको बालकुमारीबाट आज बिहान सुरु भएको शिवपार्वती रथ यात्रा चाँगुनारायण नगरपालिका ८ सुडाल कलमसीस्थित एक सय फिट अग्लो कल्पेश्वर महादेव मन्दिर परिसरमा पुगेको छ । मानव कल्याण आध्यात्मिक प्रतिष्ठानले आज विजया एकादशीका दिन आयोजना गरेको १५औँ बृहत् शिवपार्वती रथयात्रामा पुगेर यज्ञमा परिणत भएको छ ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष, समाजसेवी तथा शिवतान्त्रिक बुद्धिकुमार गुरुले हरेक वर्ष झँ यस वर्ष पनि बालकुमारी मन्दिरबाट बिहान ८ः३० बजे सुरु भएको रथयात्रा कोटेश्वर, जडीबुटी, लोकन्थली, ठिमी, राधेराधे, सूर्यविनायक, कमलविनायक, सुडाल हुँदै मध्याह्न १२ बजे भक्तपुरको कलमसीस्थित कल्पेश्वर धाममा पुगेर समापन गरी यज्ञ एवं होमलगायत पूजा सुरु भएको बताए ।


बालकुमारीबाट हजारौँ भक्तजनको सहभागिता रहेको रथयात्रामा सहभागी भक्तजनले एक मुठी तिल दान गर्दै दर्शन गर्न भीड लागेको उनले बताए कल्पेश्वर महादेव मन्दिरमा रथयात्रा समापन गरी चार होमहोमादीका साथै पानीले भरिएको कुण्डमा पनि पूजा गर्ने कार्य सुरु भएको बताए ।


समग्र मानव कल्याणको उद्देश्य र नेपालकै पहिलो अग्लो शिव मन्दिरका साथै विभिन्न धार्मिक धाम निर्माण सम्पन्न गर्ने उद्देश्यले रथयात्रा आयोजना गरिएको उनले बताए । प्रतिष्ठानका महासचिव इन्द्रप्रसाद श्रेष्ठले रथयात्रामा काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला र काभ्रेबाट हजारौं दर्शनार्थीको सहभागिता रहेको बताए।


प्रतिष्ठानले सुडालको कलमसीमा एक सय आठ रोपनी क्षेत्रफलमा एक सय आठ फिट अग्लो कल्पेश्वर महादेवको मूर्तिसहित मन्दिर निर्माण सुरु गरेको जनाउँदै त्यस क्षेत्रमा शिवको मूर्तिलगायत बुद्ध, मायावती, बुद्धका सात पाइला, श्री एक सय आठ आवल ब्रह्मचारी बालागुरु षडानन्दको मूर्ति पनि राखिने भएकाले त्यसको प्रचार गर्दै हिन्दू धर्मको रक्षार्थ रथयात्रा आयोजना गरिएको महासचिव श्रेष्ठले जानकारी दिए।


प्रतिष्ठानले धार्मिक, सांस्कृति तथा आध्यात्मिक क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि विगत १५ वर्षदेखि क्रियाशील हुँदै आएको प्रतिष्ठानले भक्तजनलाई एक हजार आठ शिवलिङ्ग दान गर्नलाई शिवमूर्ति निर्माण हुने स्थलमा संकल्प पूजा सम्पन्न गरिएको छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति एवं सघीय सांसद दुर्लभ थापा, चाँगुनारायणका नगर प्रमुख जीवन खत्री, चाँगुनारायण‐८ का वडाध्यक्ष जनक खत्रीलगायतले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न जुट्नुपर्ने बताए ।