Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

अर्थमन्त्री बाधक बन्दा गठबन्धन नै भत्कियो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतलाई अन्तिमसम्म बोकेपछि वर्तमान सत्ता गठबन्धन ढलेको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्थमन्त्री महतसँग गत मंसिरदेखि नै असन्तुष्ट थिए ।

उनले मंसिरदेखि नै मन्त्रिमण्डल पुनर्गठनको पहल थालेका थिए । त्यतिबेला कांग्रेस सभापति देउवाले नै राष्ट्रिय सभाको निर्वाचनसम्म मन्त्रिमण्डल हेरफेर नगर्न भन्दै आएका थिए । त्यसपछि फेरि देउवाले कांग्रेस महासमिति बैठकसम्म कुर्न लगाए ।

एकातिर कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरुको रिपोर्ट कार्ड राम्रो नहुनु र अर्कातिर प्रचण्डसँगै अर्थमन्त्रीको राम्रो सम्बन्ध नहुनाका कारणले पनि प्रचण्ड चिँढिदै आएका थिए । कांग्रेस महासमिति सकिएपछि पनि देउवाले अर्थमन्त्री महतलाई लगानी सम्मेलनसम्म काम गर्न दिन प्रचण्डसँग आग्रह गरेपछि प्रचण्ड देउवासँग नै बिच्किएका थिए । अहिले नेकपा माओवादी केन्द्र, नेकपा एमाले, रास्वपा र जसपाको नयाँ गठबन्धन बनाउने सहमति भएसँगै संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सत्ताबाट बाहिरिने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसले आफूलाई काम गर्न नदिएको भन्दै एमाले, रास्वपा, जसपासहितको नयाँ गठबन्धन बनाउने सहमति गरेका छन् । राष्ट्रिय सभाको अध्यक्ष, कांग्रेस महासमिति बैठकमा पेश भएका दस्तावेज, टीआरसी लगायत विषय सतहमा देखिए पनि गठबन्धन टुट्नुको मुख्यकारण अर्थमन्त्री डा. प्रकाशशरण महत भएको स्रोतले दावी गरेको छ ।

प्रधानमन्त्रीको चासो भएका फाइल अगाडि नबढाउने, समानान्तर सत्ताको अभ्यास गर्ने काम अर्थमन्त्रीबाट हुन थालेपछि प्रचण्डले देउवा समक्ष पटक–पटक गुनासो गरेको स्रोतले बताएको छ । तर, देउवा महतलाई हटाउन तयार नभएपछि नयाँ समीकरणका लागि प्रचण्डले एमाले अध्यक्ष ओलीसँग छलफल अघि बढाएको स्रोतको दाबी छ ।

गत बिहीबार अर्थमन्त्रीकै अगाडि सार्वजनिक रूपमै पनि प्रचण्डले उनीप्रति गुनासो गरेका थिए । महतप्रति लक्षित गर्दै उनले भनेका थिए, ‘हामीले निर्धारण गरेको लक्ष्य धरातलीय यथार्थतासँग मेल खाएन । अझ पुँजीगत खर्च त २४ प्रतिशतभन्दा पनि कम भएको छ । पुँजी निर्माण नभई विकासले गति लिँदैन भन्ने सबैलाई थाहा छ ।’ महतले आगामी बजेटमा प्रधानमन्त्रीले निर्देशन दिएका विषय समेट्ने छाँटकाँट समेत नदेखाएको स्रोतको दावी छ । ‘बजेटको सिद्धान्तमै कुरा मिलिरहेको थिएन, अन्य विषयमा गठबन्धनमा सामान्य खटपट हुने भएता पनि देशकै समृद्धिको विषयमा अर्थमन्त्री बाधक बन्दा गठबन्धन नै भत्किने अवस्था आयो’, स्रोत भन्छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत आइतबार पार्टी संसदीय दलको बैठकमा अर्थमन्त्रीकै कारण कांग्रेस–माओवादी गठबन्धनमा समस्या आएको ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री प्रचण्डले पनि निकटस्थहरूसँग मुख्य समस्या अर्थमन्त्रीकै कारण आएको ब्रिफिङ गरेका छन् । आफूलाई काम गर्न अप्ठ्यारो भएको भन्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग कांग्रेसबाट अर्को अर्थमन्त्री चाहियो भन्ने गरेका थिए । तर, देउवाले कुरै नसुनेपछि प्रचण्ड गठबन्धन बदल्ने मनस्थितिमा पुगेको स्रोतको दाबी छ ।

२०७९ को पुस १० मा एमाले–माओवादी गठबन्धन बन्नुको पृष्ठभूमिमा पनि महत नै थिए । महतसहितका नेताले कुनै पनि हालतमा प्रचण्डलाई प्रधानमन्त्री दिनु हुँदैन भनेर देउवालाई उक्साएको आरोप थियो । माओवादी, एमाले, जसपा र रास्वपाका कम्तीमा १–१ जनाले आजै मन्त्रीको शपथ लिने तयारी छ । विकसित घटनाक्रमबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक समेत बसिरहेको छ । एमालेले पदम गिरीलाई मन्त्रीमा पठाउने तयारी गरेको छ । माओवादी, रास्वपा र जसपाले मन्त्री टुंग्याउन बाँकी छ । चारै जनाले विना विभागीय मन्त्रीका रूपमा शपथ लिनेछन् ।