Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरू पाँच दिने शैक्षिक स्थलगत अध्ययनका लागि पोखरा प्रस्थान

त्रिचन्द्र बहुमुखी क्याम्पसमा वातावरण विज्ञान विभाग अन्तर्गत बिएस्सी तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरू शैक्षिक भ्रमणका लागि पोखरा प्रस्थान गरेका छन् । वातावरण विज्ञान अध्ययनरत ९६ विद्यार्थी आज बिहान पाँच दिने शैक्षिक स्थलगत अध्ययनका लागि पोखरा गएका हुन् ।

भ्रमणमा विद्यार्थीहरुले सडक निर्माणको वातावरणीय स्थलगत अध्ययन गर्नेछन् । फागुन २० गतेदेखी २४ गतेसम्मको यस अध्ययन भ्रमणका लागि कास्की जिल्ला अन्तर्गत पोखरा फुस्रे खोला–चिसापानी सडकखण्डलाई छनोट गरिएको छ। उक्त भ्रमण टोलीको प्रतिनिधित्व गर्दै वातावरण विज्ञान विभागका पाँच प्राध्यापकहरु पनि सहभागी छन्।

TC 3.jpg

'विद्यार्थीले यस भ्रमणमा वातावरण व्यवस्थापन योजना कार्यान्वयनको बारेमा अध्ययन गर्नेछन्। स्थलगत अध्ययनमा भौतिक वातावरण, जैविक वातावरण, सामाजिक, आर्थिक र सांस्कृतिक वातावरणको डाटा संकलन गर्न सिकाइनेछ। सार्वजनिक सुनवाई र सूचना मुचुल्काको कार्यविधिबारे पनि विद्यार्थीहरुले ज्ञान आर्जन गर्नेछन् । यस भ्रमणमा संकलित तथ्याङ्कबारे समूहगत छलफल हुनेछ। प्रभाव मूल्याङ्कन र न्यूनीकरणको लागि विश्लेषण पनि गरिनेछ।' त्रिचन्द्र बहुमुखी क्याम्पसको वातावरण विज्ञान विभागले जारी गरेको भ्रमण यात्रा योजनामा बताइएको छ। 

वातावरणीय मूल्याङ्कनको प्रयोगात्मक, व्यावहारिक ज्ञान र सीप विकास गर्नमा केन्द्रित हुनेछ। सैद्धान्तिक शिक्षा भनेको ज्ञानको बारेमा हो र व्यावहारिक प्रयोग भनेको सिकेको ज्ञानलाई निश्चित वास्तविक जीवन परिस्थितिमा कसरी लागू गर्न सकिन्छ भन्ने यस भ्रमणको मुल उद्येश्य रहनेछ । यस व्यावहारिक ज्ञानले विद्यार्थीको सिकाइमा सहजता प्रदान गर्ने क्याम्पस प्रशासनले आशा गरेको छ।

भ्रमणमा सहभागि छात्र सरोज वान्तावा राई भन्छन - 'सैद्धान्तिक ज्ञान त अब लिइराखेकै हो। तर त्यति प्रभावकारी हुँदैन। अब यो प्राक्टिकल फिल्डबाट धेरै कुराहरू सिकिन्छ भन्ने आशा छ। साथीहरूसँग रमाइलो गर्दै धेरै व्यवहारिक ज्ञान सिक्ने मौका पाएका छौं। म त धेरै खुसी छु। ट्राभल ब्रोडन्स द माइन्ड भन्छ है, नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ मान्छे धेरै कुराहरू अवलोकन गरेर सिकिन्छ होला। यहाँबाट सिकेका कुरा फोर्थ इयरमा वा पछि जव गर्दा काम लाग्छ भन्ने कुरामा म विश्वस्त छु।'

TC 1.jpg

विद्यार्थीको सिकाइ प्रक्रियामा शैक्षिक भ्रमणले महत्वपूर्ण भूमिका खेल्छ। यस किसिमका यात्राले विद्यार्थीमा जिज्ञासा जगाउन मद्दत गर्ने भन्दै विद्यार्थीहरू शैक्षिक भ्रमणबारे उत्साहित छन।