Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

होस्टलमै मृत्त फेला परेकी शालिनको भेटियो ‘सुसाइड’ नोट, के लेखिएको छ?

पोष्टमार्टम रिपोर्ट आउन बाँकी

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत फेला परिन् । फागुन १२ गते कक्षा ८ मा पढ्ने १४ वर्षीया पोखरेल प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेल छन् । उनीहरुविरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले जानकारी दिएका छन् । अनुसन्धान अधिकृतहरुले शालिनले छाडेको सुसाइड नोट फेला पारेका छन् । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार नोटमा उनले लेखेकी छन्, ‘सरी एभ्रिबडी, सरी ममि ड्याड ।’ प्रहरीले सुसाइड नोटको फरेन्सिक जाँच गर्दैछ ।

गोरखाको अजिरकोट गाउँपालिका–५ मुच्चोक घर भएकी शालिन पछिल्लो समय चितवनको रत्ननगर नगरपालिका–१५ स्थित माधवपुरमा बस्थिन् । शालिन दुई वर्षदेखि सो होस्टलमा बसेर पढ्थिन् । बुवा र आमा सम्बन्ध विच्छेद गरेर उनकी आमा दुबई र बुवा काठमाडौँमा बस्छन् । पंखामा झुण्डिएको अवस्थामा प्रहरीले शव बरामद गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । उनको शव पोष्टमार्टम रिपोर्ट आएको छैन । अनुसन्धान अधिकृतहरु अहिले उनको शव पोष्टमार्टम रिपोर्ट पर्खिरहेका छन् । डीएसपी भण्डारी भन्छन्,‘पोष्टमार्टमको रिपोर्ट आएपछि थप अनुसन्धान अघि बढाउँछौँ ।