Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

बालकुमारी घटनामा मन्त्रीलाई उन्मुक्ति दिन अर्को समिति!

सरकारले बालकुमारी घटनाका सम्बन्धमा फागुन २० भित्र सुझाव सिफारिस गर्ने गरी ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहितको समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बालकुमारी घटनाको छानबिन गर्न गठित आयोगले सुझाव कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिवेदन अध्ययन गरी फागुन २० भित्र सुझाव सिफारिस गर्नेगरी ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहितको समिति गठन गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिए ।

बालकुमारी घटनाको कारण भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला रहेको पूर्वन् यायाधीश संयोजकत्वको आयोगले प्रतिवेदन दिएको थियो । उक्त प्रतिवेदन अध्ययन गरेर कार्यान्वयनबारे सुझाव दिन दुई मन्त्री रहेको समिति गठन गरिएको हो । शर्माका अनुसार सरकारले प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने भन्ने विषयको प्रदर्शनका क्रममा सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु हुने जयशंकर साहको परिवारलाई आर्थिक सहायता स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ । त्यस्तै सुनको अवैध पैठारी, तस्करी नियन्त्रण सम्बन्धी गठित आयोगको म्याद २०८० फागुन १६ बाट लागू हुनेगरी फागुन मसान्तसम्म थप गरेको छ ।

त्यस्तै, भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाललाई बेलायत सरकारले प्रदान गर्ने इन्टरनेशनल मेयर अवार्ड ग्रहण गर्न स्वीकृति दिने निर्णय पनि भएको मन्त्री शर्माले जानकारी दिइन् । जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट क्षतिग्रस्त पालिकाहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको पनि शर्माले जानकारी दिइन् ।